निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन «

निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन

इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । गृह जिल्ला ताप्लेजुङ जाने क्रममा उनले बुधबार विमानस्थलको अनुगमन गरेका हुन् । उनले अनुगमनपछि सम्बोधन गर्दै यहाँको विमानस्थल आवश्यक्ता भएर नै सुरु भएकाले सम्पन्न हुने बताए ।
पहाडी जिल्लामा विमानस्थल आवश्यक्ता महसुस भएर नै यहाँ काम थालिएको उनको भनाइ छ । पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै उनले अब निराश नबन्न स्थानीयलाई आग्रहसमेत गरे । १५ महिनाको ठेक्का सुरु भइसकेको बताउँदै उनले काम सुरु भएको एक महिना बितिसकेको बताए । अबको १४ महिनामा यसको हेर्न लायकको प्रगति हुने भन्दै उनले त्यसपछि थप रकम विनियोजन गरेर भए पनि यसलाई सम्पन्न गर्न आफू लागि पर्ने बताए ।
पर्यटन प्रबद्र्धनमा समेत मद्दत पु-याउने भएकाले पनि सरकारले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । हाल ९ करोड ५० लाखको काम भइरहेको उनले जानकारी दिए । सो रकमले हाल काम भइरहेको र थप कामका लागि रकम थप गरेर अघि बढ्ने उनले बताए ।
नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मनोज भट्टराईले आगामी असोजसम्ममा दोस्रो परीक्षण उडान गर्ने लक्ष रहेको बताए । मन्त्री भट्टराईसँगै इलाम आएका उनले अबको परीक्षण उडान हुने र थप हौसला बढ्ने उनी बताउँछन् ।
इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ साल जेठमा पहिलो पटक परीक्षण उडान भइसकेको छ । यहाँको विमानस्थ सम्पन्न गर्न स्थानीयले चाँडो काम गर्न आग्रह गर्दै आएका छन् । विमानस्थलको समाचार बुधबार कारोबार दैनिकमा नै प्रकाशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्