Logo

फड्के किराको प्रकोपले किसान चिन्तित

दाङ– धानमा फड्के किराको प्रकोप देखिन थालेको छ । प्रकोप देखिएसँगै कृषकहरू चिन्तित भएका छन् । धान पसाउने समयमा खेतभरिको धान पहेंलो भएर कुहिएपछि राप्ती गाउँपालिका–५ का किसान मदन पोख्रेललाई छट्पटी छुटेको छ । वर्ष भरि खान पुग्ने धान खेतमै कुहिएपछि उनको परिवार समस्यामा परेको छ ।

‘४० वर्षदेखि खेती हुँदै आएको खेतमा पहिलो पटक रोग किराको प्रकोप देखियो । कृषि प्राविधिकको सल्लाहअनुसार उपचार गर्दा पनि रोग किरा नियन्त्रणमा आएन,’ किसान पोख्रेलले भने, ‘पराल पनि काम नलाग्ने गरी सुक्यो ।’ धान पसाउने बेलामा रोग किराको प्रकोपबाट क्षति भएपछि थप समस्या भएको छ । ६ कट्ठामा रोपिएको धान सुकेर पराल बनेको छ । सुरुमा एउटा कुनामा देखिएको रोग पछि खेतभरि नै फैलिएको थियो ।

‘अहिलेसम्म धान खेतमा यस्तो समस्या आएको थिएन । यो पटक खै के भयो यस्तो विजोग बनायो । वर्षभरि खाने धान सखाप भयो । विगत वर्षमा गोरखनाथ धान रोप्ने गरेको थिएँ,’ उनले भने, ‘यो पटक सावाँ मन्सुली रोपेको तर सबै चौपट भयो । धानका बोट सबै सुकेर पराल बनेका छन् । पराल पनि गाईवस्तुलाई खुवाउन मिल्दैन । किराले असर गरेको छ । त्यसमा विषादी पनि छरेको छ । सबै बर्बाद हुने भयो ।’

मदन पोख्रेलको खेतमा फड्के किराको असरले क्षति भएको पुष्टि भएको छ । स्थानीय सरकार राप्ती गाउँपालिकाले किसानको खेतमै पुगेर नमूना संकलन गरेको थियो । संकलन गरिएको नमूनाका आधारमा फड्के किरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सीमा भट्टले जानकारी दिइन् । राप्ती गाउँपालिकाको वडा नं. १, २, ५, ७ मा फड्के किराको प्रकोप देखापरेको छ ।

जसले किसानलाई धान बाली भित्र्याउने बेलामा समस्या थपेको छ । धानका बोट पहेंलो हुन थालेपछि पालिकाले प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरि रहेको जनाइएको छ । ‘फड्के किराले गर्दा धानको बोट मर्न थालेको सूचना हामीसँग आइपुगेको छ,’ कृषि शाखा प्रमुख भट्टले भनिन्, ‘यो प्रकोप अन्यत्र नसरोस् भन्नेमा सबै सचेत हुन जरुरी छ ।’

राप्ती गाउँपालिका–७ का रामचरण चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखा परेको बताए । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको उनको भनाइ छ । कृषि प्राविधिकसँगको सल्लाहमा विषादी छर्केर उपचार गरिरहेको उनले बताए । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिगाहभन्दा बढी क्षेत्रको धान बाली पहेंलो भएर सुक्न थालेको बताइएको छ ।

सुरुमा धानको बोटमा तल्लो भागका पात र पछि माथिल्ला पातसमेत पहेंलिँदै जाने, बिरुवाहरू गाँजिन र बढ्न नसक्ने र पछि पूरै बोट डढेलो लागे जस्तो गरी मर्ने गरेको कृषकहरू बताउँछन् । ‘धान उत्पादक किसान समस्यामा छन् । तर सरकारको ध्यान पुगेको देखिदैन,’ सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले भने, ‘धानबालीमा भएको क्षतिको आधारमा किसानलाई राहत र क्षतिपूर्ति सरकारले दिनु पर्छ ।’

कृषकहरूले समयमा नै धान बालीको उपचार र क्षति पुगेकालाई राहत प्रदान गर्नसमेत माग गरेका छन् । बाली पाक्ने समयमा प्रकोप देखापर्दा आफूहरूले गरेको मेहनत खेर जान थालेको उनीहरूको भनाइ छ ।

राप्तीमा देखिएको प्रकोप पहिलो : ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र दाङले राप्ती गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक भएको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको बताएको छ । प्रकोपको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेरमात्रै थप जानकारी हुने ज्ञान केन्द्रको भनाइ छ ।

फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखापर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनु पर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउँछन् । देउखुरी क्षेत्रमा देखापरेको समस्याका बारेमा ज्ञान केन्द्रलाई आइतबार मात्रै औपचारिक जानकारी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फड्के किराको प्रकोप बढ्दै गएको हुँदा प्राविधिक टोली पठाई प्रकोप रोकथाममा सहयोग गरिदिन अपिल गरेको पत्र ज्ञान केन्द्रमा पुगेको छ । पालिकाले तत्काल थप प्राविधिक टोलीबाट प्रकोप क्षेत्रको अनुगमन गरी रोकथाम नगरिए स्थिति भयावह हुनेतर्फ पनि सचेत गराएकाले आफूहरू यस बारेमा बुझ्ने तयारीमा रहेको कृषि प्रसार अधिकृत लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्