Logo

हस्तकलाको सुविधा निरन्तरतामा कूटनीतिक उपेक्षा

काठमाडौं– सन् २०२६ मा नेपाल अतिकम विकसितबाट विकासशिल देशमा स्तरोन्नति हुँदा हस्तकला उद्योगले पाउँदै आएको भन्साररहित प्रवेश सुविधा कटौती हुने भएसँगै निजी क्षेत्र चिन्तित बनेको छ । समग्र निर्यातमा झन्डै २० प्रतिशत योगदान रहेको हस्तकला क्षेत्रलाई यो सुविधाको निरन्तरताका निमित्त कूटनीतिक पहल गर्नुपर्ने सरोकारवालाको भनाइ छ । निर्यात गन्तव्य, विकल्प तथा सरकारले गर्नुपर्ने लबिङमा चनाखो बन्न उनीहरुले आग्रह गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपाय’ विषयक कार्यक्रममा सरोकारवालाहरुले स्तरोन्ततिको मिति नजिकिँदै जाँदा सरकारी पक्षबाट गर्नुपर्ने छलफल तथा वार्ता सन्तोषजनक नभएको गुनासो गरे । नेपाल विकासशील मुलुकमा स्तरोन्नतिपछि निर्यात व्यापार खुम्च्याउने नभई बढावा दिने गरी पहल गर्न उनीहरुको आग्रह छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै स्तरोन्नतिपछि हस्तकला उद्योगले पाउँदै आएको भन्साररहित प्रवेश सुविधा र सामान्यता ग्राह्यता सुविधा पनि हट्ने हुँदा यसबाट ठूलो असर पर्ने बताए । हस्तकला उद्योग प्रवर्द्धनका लागि पूर्वाधारको अभाव, योग्य तथा दक्ष जनशक्ति टिकाउन नसकिएको अवस्था तथा प्रोत्साहन र संरक्षण हुन नसक्दा नेपाली कलाकार तथा शिल्पकार पलायन बढ्दै गएको उनको भनाइ छ ।

‘एकातर्फ नेपाली हस्तकला क्षेत्र नीतिगत तथा प्रशासनिक झन्झटबाट मुक्त हुन सकेको छैन भने अर्काेतर्फ स्तरोन्ततिपछि के हुने भन्नेमा धेरै अलमल छ,’ उनले भने, ‘वर्तमान अवस्थामा सरकारले अभिभावकीय भुमिका निभाएर उद्योगीहरुको मनोबल बढाउनु जरुरी छ भने अन्तरमन्त्रालयगत समन्वय प्रभावकारी बनाउनुपर्छ ।’

निर्यातका लागि नेपाली हस्तकला उद्योग एउटा राम्रो संभावना बोकेको क्षेत्र रहेको र रोजगारीका हिसाबले पनि झन्डै ११ लाख मानिसहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हस्तकला महासंघको भनाइ छ । हस्तकला उद्योगका लागि चालु र पुनर्कर्जाको व्यवस्था १ वर्षको हुनुपर्ने माग उद्योगीहरुको छ । हस्तकला उद्योगलाई प्राथमिकता प्राप्त कर्जा सरह सरल र सहज ढंगले कर्जा प्रवाह गनुपर्ने महासंघका कार्यवाहक अध्यक्ष सनम शाक्यले बताए ।

उनका अनुसार नगद अनुदान दिने प्रक्रियामा भन्सारको प्रज्ञापन पत्र र विदेशी मुद्रा जम्मा भएको आधारमा स्वत: खातामा जम्मा गर्ने व्यवस्था, साना–साना हस्तकला सम्बन्धी उद्योगको निर्यात प्रवर्द्धन गर्न र सरकारबाट प्रदान गरिएको सुविधा उपभोग गर्न निर्यात प्रवर्द्धन गृह कार्यान्वयनमा ल्याउनु जरुरी छ । स्रोन्नतीपछि हस्तकलाको भविष्य के हुने भन्नेमा सरकार गम्भिर बन्न उनले आग्रह गरेका छन् ।

मुलुकमा ४२ भन्दा धेरै विधाका हस्तकला उत्पादन हुन्छन् । जसको माग विश्वका धेरै मुलुकमा छ । महासंघका अनुसार नेपाली हस्तकला अमेरिका, युरोप, चीन, भारत, लगायत २५ भन्दा धेरै मुलुकमा निर्यात भइरहेको छ । परम्परागत रुपमा चल्दै आएको व्यवसायमा १० हजारभन्दा धेरै उद्योग छन् तर सरकारी रुपमा दर्ता भएको संख्या कम छ । हस्तकलामा ४० प्रतिशतभन्दा कम मात्रै मेसिनको प्रयोग हुन्छ ।

अधिकांश हातले बुनेका यी कलाले समस्या भोग्दाभोग्दै पनि मुलुक चिनाउने काम गरिरहेका छन् । मिथिला आर्ट, पाल्पाको करुवा, पोखरको पर्यटन चिनाउने उत्पादन, संखुवासभाको अल्लोको कपडा, भक्तपुरको मूर्तिकला यस्ता उदाहरण हुन्, जसले मुलुकको पहिचान बोकेका छन् र विश्वलाई नेपाल चिनाएका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकला क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग गरी लागत घटाउन सुझाव दिंदै पछिल्लो ५ वर्षयता निर्यातमा उपलव्धि हाँसिल हुन नसकेको बताए । डलरमा आएको परिवर्तनले मात्रै केहि निकासी बढेजस्तो देखिए पनि परिमाणका आधारमा धेरै प्रगति हुन नसकेको भन्दै आगामी दिनमा संभावनाहरुलाई लिएर अगाडि बढनुपर्ने बताए । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा हस्तकला क्षेत्रको योगदान १ प्रतिशत भन्दा कम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्