Logo

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो ।

विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पस्टीकरण सोधेको आठ महिना नाघेपछि कारबाही गरेको हो । क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै बोर्डले २४ पुस २०७९ मा कारबाही गर्ने निर्णय गरेको थियो ।

कम्पनीलाई धितोपत्रसम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारबाही किन नगर्ने ? भनी सफाइ पेस गर्न निर्देशन दिएको थियो । यस्तै कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने ? भनी स्पष्टीकरण पेस गर्न बोर्डले निर्देशन दिएको थियो ।

विशाल ग्रुपको लगानी रहेका यो रेटिङ कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरूको बैंकिङ ऋणका लागि रेटिङ गरेको पाइएपछि कारबाहीको निर्णय गर्दै बोर्डले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेर कारबाही नगरी यसै रोकिएकोमा सोही कम्पनीले विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको पनि रेटिङ गरेको थियो ।

उक्त आईपीओका लागि नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरेपछि बोर्डको कार्य पनि विवादास्पद बन्न पुग्यो । घोराही सिमेन्टको आईपीओ स्वीकृत गर्दै स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट भएर सर्वसाधरणलाई निष्कासन गरेको चौथो दिन बोर्डले आईपीओ निष्कासन रोकेको थियो ।

बोर्डले कम्पनीलाई सोधको स्पष्टीकरण पेस नगरेको साथै घोराही सिमेन्टमा स्वार्थ बाझिने हो कि होइन भन्दै जवाफ पेस गर्न भने पनि नगरेको भन्दै बोर्डले ४ असार २०७९ मा घोराही सिमेन्टको आईपीओ रोकेको थियो । साथै कम्पनीको आईपीओमा भरेको झुटा आवेदनको छानबिनसमेत गरे पनि त्यसमा कुनै ठोस कारबाही अगाडि बढाएन । तर, २०७९ पुसमा नै स्पष्टीकरण सोधेको विषयमा कारबाही गर्ने भन्दै बोर्ड अध्यक्ष हमालले विभागीय प्रमुखलाई टिप्पणी उठाएर बोर्डमा पेश गर्न निर्देशन दिएका थिए ।

२०७९ पुसमा नै स्पष्टीकरण सोधर २०८० असोजमा आएर बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गर्दै फाइल बन्द गरेको छ । केयरले विशाल ग्रुपको लगानी गरेको युनाइटेड डिस्ट्रीब्युटर्स, एसियन डिस्ट्रीब्युटर्स, भीजी अटोमोबाइल्स, घोराही सिमेन्ट, मैनबत्ती स्टिल, ग्लोबल ट्रेडिङ कन्सर्नलगायतका कम्पनीको रेटिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्