अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं- काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए ।

त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
त्यस्तै, संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्तिमार्फत अमेरिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै यो नेपालले गरेको उल्लेखनीय प्रगति र राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण भएको उल्लेख गरेका छन् ।

विदेशमन्त्री ब्लिङ्केनले समझदारी, विश्वास, र सद्भावनालाई बढवा दिने जनता/जनताबीचको सुमधुर सम्बन्ध नै हाम्रो द्विपक्षीय मित्रताको आधारशिला भएको बताएका छन् । “हामी यो विशेष दिन मनाउने क्रममा दुई राष्ट्रबीच यी अमूल्य सम्बन्धप्रति हाम्रो शान्ति, सहयोग र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौँ” उनले उल्लेख गरेका छन् ।

