क्युआरमा बानी बस्दै, महिनामै एक करोड १२ लाख पटक भुक्तानी «

क्युआरमा बानी बस्दै, महिनामै एक करोड १२ लाख पटक भुक्तानी

काठमाडौं– क्युआरमार्फत भुक्तानी गर्न नेपालीहरू बानी पार्न थालेको पाइएको छ । क्युआरमार्फत हुने भुक्तानी ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

आव २०८०–८१ को पहिलो महिना (साउन)मा मात्रै एक करोड १२ लाख ५७ हजार ३८८ पटक क्युआरमार्फत भुक्तानी भएको छ, जुन अघिल्ला महिनाहरूको तुलनामा निकै बढी हो । गत आवको अन्तिम महिना अर्थात् २०८० असारमा ९७ लाख ६६ हजार २१६ पटक क्युआरमार्फत भुक्तानी भएकोमा साउनमा करिब १५ लाख पटक बढी भएको हो । आव २०७९–८० को साउनमा ४६ लाख ७२ हजार ५६ पटक क्युआरमार्फत भुक्तानी भएको थियो । चालु आवको साउनमा यो संख्या बढ्दै एक करोड १२ लाख नाघेको हो ।

पछिल्लो समय नेपालीहरूमा सहज भुक्तानीको माध्यम क्युआर बन्दै जाँदा यसको प्रयोगले व्यापकता पाएको राष्ट्र बैंकले जनाएको छ । कारोबार संख्याका साथै कारोबार रकम पनि बढेको छ । चालु आवको साउनमा २९ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी क्युआरमार्फत भएको छ । गत आवको साउनमा यो रकम १४ अर्ब ८१ करोड थियो । चालु आवको साउनमा यो १५ अर्ब १७ करोड रुपैया बढी हो ।

गत आवभरमा क्युआरमार्फत २ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी भएको थियो, जुन अघिल्लो आवको तुलनामा १ खर्ब ५० अर्ब रुपैयाँ बढी हो । अघिल्लो आवमा यस्तो भुक्तानी ९४ अर्ब ५० करोड रुपैयाँ थियो ।

रिटेल पेमेन्ट सिस्टम अन्तर्गतको अत्यन्तै सहज एवं सुरक्षित भुक्तानी प्रणाली हो क्युआर । यसको सेटलमेन्ट नेपालभित्रै हुन्छ । यसमा कुनै पनि रकम बाहिरी देशमा जाँदैन । सस्तो र सुरक्षित तथा सानो भुक्तानीका लागि अत्यन्तै उपयोगी भएकाले क्युआरको प्रयोग बढ्दै गएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन् । स्मार्टफोन र इन्टरनेटको बढ्दो पहुँचले यसमा सघाउन पुर्याएको उनको भनाइ छ । ‘यसबाहेक राजस्व भुक्तानी गर्न सक्ने सुविधा पनि यसमा भएपछि आम मानिसमा सहज भएको छ,’ उनले भने । अस्पताल तथा अन्य क्षेत्रमा डिजिटल पेमेन्टको पहुँच पुगेपछि नोट लेनदेन गर्दा सर्न सक्ने रोगसमेत कम हुने भएकाले पनि यसको प्रयोग बढेको उनी बताउँछन् ।

पछिल्ला महिनाहरूमा हरेक पटक क्युआरको माध्यमबाट भुक्तानी गर्ने क्रम बढ्दो रहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । उनले भने, ‘साउनको तथ्यांकले त अघिल्लो वर्षको तुलनामा १०८ प्रतिशतको वृद्धि भएको पाइयो । यो उत्साहजनक हो,’ उनले भने । प्रणालीको अभावमा कतिले क्युआर भुक्तानी गरेका छन् भन्नेबारे यकिन लेखाजोखा गर्न नसकिएको उनको भनाइ छ ।

नेपालमा विद्युतीय भुक्तानीले बढावा पाएको करिब चार वर्ष भएको छ । यस अवधिमा उल्लेख्य रुपमा प्रयोगकर्ता बढेका छन् । बैंकहरूले पनि डिजिटल भुक्तानीका लागि साक्षरता कार्यक्रम गरिरहेकाले यसमा सन्तोषजनक उपलब्धि हासिल भएको पौडेलले बताए । ‘राजस्व भुक्तानीमा भने अपेक्षित प्रगति हात पार्न सकिएको छैन । विद्युतीय प्रणालीबाट करिब ३५ प्रतिशतमात्रै राजस्व भुक्तानी भएको देखिन्छ, जुन निकै कम हो,’ उनले भने ।

राष्ट्र बैंकले गत आवलाई विद्युतीय भुक्तानी वर्षको रुपमा मनाएको थियो । यसले विद्युतीय तथा क्युआर भुक्तानीका लागि जनतामा जागरण थपेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानी पु¥याउने अभियानसहित क्युआर पेमेन्टलाई बढी प्राथमिकता दिएका थिए । ठेला गाडादेखि तरकारी बजारसम्म क्युआर पेमेन्टलाई प्राथमिकता दिन गभर्नर आफैं अघि सर्दा पनि जनतामा सकारात्मक सन्देश गएको र भुक्तानीका लागि आकर्षित भएको राष्ट्र बैंकको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्