सौन्दर्य व्यापारमा ४ करोड लगानी

धादिङ– सौन्दर्य व्यापारमा धादिङमा मात्रै करिब ४ करोड लगानी रहेको अनुमान गरिएको छ । जिल्लामा १ सयभन्दा बढी संख्यामा ब्युटिपार्लर छन् । सामान्य खालका त्यस्ता ब्युटिपार्लर सञ्चालन गर्दा २ लाख रुपैयाँ लगानी आवश्यक पर्छ ।
सोही हिसाबले धादिङमा ४ करोडभन्दा बढी लगानी रहेको आकलन गरिएको हो । यसबाट १ सय ५० जनाले रोजगारी पाएका छन् । धेरै लगानी गरेका पसलमा २० लाख रुपैयाँसम्म रहेको छ । उनीहरूले दुई–तीन जनालाई रोजगारी दिएको सौन्दर्य कला व्यवसायी धादिङकी सचिव सावित्री श्रेष्ठ बताउँछिन् ।
कम आकर्षकलाई पनि आकर्षक बनाउन सौन्दर्यकर्मीहरू लागिपरेका छन् । उनीहरूले आफ्नो जीविकोपार्जनको मुख्य आधार सौन्दर्यकला बनाएका छन् ।
यसरी सन्दर्यकलालाई व्यवसायकै रूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिका ३ बाट १८ वर्षअघि धादिङमा आएर कौशिका ब्युटिपार्लर सञ्चालन गर्दै आएकी छिन्, राधिका दंगाल । धादिङबेसी सुगम टोलमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी दंगाल भन्छिन्, ‘पहिला ब्युटिपार्लर छिर्न हुन्न भन्नेहरू पनि अहिले आउँछन् । यो समयको माग हो । सँगैको साथी राम्री भएर हिँडेपछि आफूलाई पनि मन लाग्छ ।
अहिले गाउँगाउँका महिलाहरू पनि पार्लर आउँछन् ।’ ब्युटी हुन त्यति धेरै पैसा नलााग्ने उनको भनाइ छ । ब्युटिपार्लर हरेक मानिसका लागि अनिवार्यजस्तै भइसकेको पार्लर व्यवसायीहरू बताउँछन् । ब्युटिपार्लरले महिलाहरूलाई कमाउनुपर्छ र साथै रमाउनुपर्छ भन्ने सिकाएको कौशिका ब्युटिपार्लरकी सञ्चालक दंगाल बताउँछिन् । आफूले सञ्चालन गरेको मेकअप स्टुडियो एन्ड ब्युटी एकेडेमीमा १२ लाख लगानी गरेर दुई जनालाई रोजगारी दिएको उनले बताइन् । १० लाखभन्दा बढी लगानी गर्नेहरूले रोजगारी दिने गरेका छन् ।
अहिले ब्युटिपार्लर प्रतिस्पर्धी व्यवसायका रूपमा रहेको छ । हरेक टोल, बजारमा चार/पाँचवटा पार्लर खुल्ने गरेका छन् । व्यवसायीले प्रयोग गरिएको सामग्री र गरेको श्रमअनुसार मूल्य निर्धारण हुने गर्छ । ब्युटिपार्लरको पछिल्लो समस्या भनेको सानो र प्रतिस्पर्धी बजारलाई लिने गरिएको छ । कोभिडले सबैभन्दा थला पारेको व्यवसाय भनेको ब्युटिपार्लर भएकाले यसलाई लयमा ल्याउन अझै समय लाग्ने उनीहरूको भनाइ छ । सौन्दर्यकला व्यवसायी संंघमा सबै व्यवसायीहरूलाई समेट्न नसकेको सचिव श्रेष्ठ बताउँछिन् । सबै पार्लर दर्ता भए/नभएको समेत संघलाई थाहा नभएको उनको भनाइ छ ।