स्यार्पु पर्यटन महोत्सव हुने

रुकुम पश्चिम– रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म १३औं स्यार्पु पर्यटन महोत्सव हुने भएको छ । बाँफीकोट गाउँपालिका–३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।
महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा सयर तथा अर्गानिक वस्तुको प्रर्दशन हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको स्यार्पु मेलाको अवसरमा महोत्सव हुने जनाइएको छ । महोत्सवमा बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा ब्याटमिन्टन, महिला पुरुष भलिवल हुने मेला व्यवस्थापक समितिले जनाएको छ ।
व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले मुसिकोटमा पत्रकार सम्मेलन गर्दै असोज ११ देखि २१ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो । महोत्सव आयोजक समितिका संयोजक तुलबहादुर देवकोटाले यसपटकको स्यार्पु महोत्सव स्थानीय तथा राािष्ट्रय कलाकारहरुको साथ बृहत गर्न लागिएको बताए ।
पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ । तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ ।