एनसेलको नेपालमा सेवा विस्तारको १८ वर्ष पूरा «

एनसेलको नेपालमा सेवा विस्तारको १८ वर्ष पूरा

काठमाडौं– निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपालमा सेवा सञ्चालन गरेको १८ वर्ष पूरा भएको छ । कम्पनीले आइतबार १८औं वार्षिकोत्सव मनाएको हो । सन् २००५ को सेप्टेम्बर १७ बाट एनसेल अर्थात तात्कालिन मेरो मोबाइल ब्राण्डबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले १ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा आफूलाई गर्वानुभूति भएको बताए । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध रहेको भन्दै अब देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बन्ने बताए ।

नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्राण्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर ‘हामी तपाईंकै लागि’ थिमको घोषणा गरेको छ । यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा समुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलावद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमको घोषणा गरेको हो ।

एनसेलले आफ्नो वार्षिकोत्सव मनाइरहेका बेला, ग्राहकसँग खुसियाली बाँड्नका लागि आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई ‘स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने कम्पनीले जनाएको छ । यस अफरमा एष्ट्रिक्स१७११७ह्यास डायल गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न योग्य बन्ने एनसेलले जनाएको छ ।

दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउने कम्पनीले जनाएको छ । साप्ताहिक र बम्पर उपहार प्राप्त गर्नका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । एनसेलको बारेमा रचनात्मक नारा एप वा वेबसाइटमार्फत पठाउनुपर्ने शर्त राखेको छ ।

वार्षिकोत्सवका अवसरमा समुदायस्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक संस्थाले एनसेलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँसम्म प्रदान गर्ने जनाएको छ । यस्तै, दिगो विकासका लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायत क्षेत्रका सामाजिक परियोजनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ । सबैभन्दा ठूलो करदातामध्ये एक भएको एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउँदै आएको बताउँदै आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/०७९ सम्ममा कर र शुल्कबापत २ खर्ब ८३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरिसकेको दावी गरेको छ । एनसेलले सीईओ जाब्बोरको इन्स्टाग्राम खाता खोलेको छ ।

सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधैं सम्पर्क गर्न सक्ने घोषणा पनि एनसेलले गरेको छ । साथै, एनसेलका सीईओको इमेलमार्फत पनि सीईओसँग कुनै गुनासा भए सिधै राख्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्