सडक सुधारको माग «

सडक सुधारको माग

दमौली- पृथ्वी राजगमार्गअन्तर्गत तनहुँको दुलेगैंडा र गाछेपानी सडक खण्ड सुधार नगरिएको भन्दै गाछेपानीवासीले बुधबार
डिभिजन सडक कार्यालय तनहुँ घेराउ गरेका छन् ।
लामो समयदेखि उक्त खण्डमा सडक जीर्ण हुँदा सवारी दुर्घटना बढ्नुका साथै स्थानीयले हिलो र धुलोको समस्या झेल्दै आएका थिए । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले डिभिजन सडक कार्यालय तनहुँ घेराउ गर्न बाध्य भएको पीडितहरूले बताएका छन् । करिब एक सयको संख्यामा आएका स्थानीय बासिन्दाले सडकको उक्त खण्ड तत्काल सडक सुधारको माग
गरेका छन् । सडक बिग्रिएको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल नगरेको हुँदा आफूहरू कार्यालय घेराउ गरेको स्थानीय शंकर पन्तले बताए । स्थानीयले कार्यालय घेराउ गरेपछि एक घन्टासम्म कार्यालय प्रमुख कार्यकक्षमै बस्न बाध्य भएका थिए ।उक्त खण्ड जिर्ण भएपछि डिभिजन सडक कार्यालयले ४ किमि सडक मर्मत गरि कालोपत्रे गर्न २०७३ साउन १२ गते निर्माण व्यवसायीसँग सम्झौता गरेको डिभिजन सडक कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले बताए ।
आठ महिनाको सम्झौता अवधिमा कुनै काम नगरेपछि दोस्रो पटक २०७४ कात्तिक १२ गते पुनःम्याद थपिएको भन्दै काफ्लेले अब भदौ १५ गतेभित्र काम गर्न उपस्थित नभए ठेक्का सम्झौता तोड्ने जानकारी दिए । काठमाडौंस्थित रोशन सिद्धगढी जेभीसँग २ करोड ७१ लाख ६८ हजार ८०२ रुपैयाँको लागतमा उक्त ४ किमि खण्ड कालोपत्रे गर्ने सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि कुनै काम नभएपछि कार्यालयले २०७५ चैत २५ गते उक्त निर्माण कम्पनीसँग स्पष्टीकरणसमेत लिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताए । त्यसपछि पनि निर्माण कम्पनीको स्थलगत उपस्थित नभएपछि पुनः गत साउन २९ गते १५ दिनको म्याद दिई अन्तिम पटक ताकेता गरिएको र भदौ १५ गतेभित्र उपस्थित भई काम सुरु नगरे ठेक्का सम्झौता
तोडिने श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्