दुई महिनादेखि लुलाङबासी अन्धकारमा «

दुई महिनादेखि लुलाङबासी अन्धकारमा

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार दुई महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युतगृह गत असार २८ गते बगाएको थियो । धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार परियोजना बगाउँदा चार बस्तीका ३७० परिवारको जनजीवन प्रभावित भएको छ ।

विद्युत नभएपछि विद्यालय, स्वास्थ्य चौकीसहित गाउँको जनजीवन प्रभावित बनेको छ । घरमा बिजुली नभएपछि बालबालिकाको पढाइ प्रभावित बनेको छ । विद्युत नहुँदा गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल बन्द भएका छन् भने गाउँलेहरू सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको छ । मोबाइल चार्ज गर्न नपाउँदा आफन्तसँग फोनसम्पर्क हुन सकेको छैन् ।

‘नहरको पानी संकलन हुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाइप बगाएको छ,’ उनले भने, ‘पेनस्टक पाइप, विद्युतगृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।’ विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुनः सञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारणलाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत परियोजनामाथि निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताए । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्याबटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्याक्रममार्फत् १० लाख खर्च भएको थियो । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

‘नेपाल विद्युत प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड बजेटको ठेक्का सम्झौताको तयारी छ,’ उनले भने, ‘लुलाङको विद्युतसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्