रारा पुग्ने सडकलाई प्राथमिकतामा राख

नेपालका उच्चकोटीका पर्यटकीय गन्तव्यमध्ये एउटा हो, राराताल । मुगुको राराताल पुगेपछि नरमाउने कोही हुँदैन । अधिकांशले यसलाई स्वर्गको एउटा रूप मान्छन् । तर दुर्भाग्य, राराताल जति सुन्दर र मनमोहक छ त्योभन्दा कठिन त्यहाँ पुग्ने सडकमार्ग छ ।
राराताल जान सुर्खेतबाट सुरु हुने कर्णाली राजमार्ग आफैं दुरावस्थामा छ । त्यसमा पनि कालीकोटको सीमापछि सुरु हुने नाग्म–गमगडी सडकको अवस्था डरलाग्दो छ । यो सडकमा गाडी गुड्न थालेको करिब एक दशक भयो । यही सडकमार्ग हुँदै बर्सेनि हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक राराताल पुग्छन् । तर, सडकमार्गबाट रारामा एकपटक पुगेको पर्यटक फेरि फर्किएर आएको घटना निकै कम छ ।
त्यही पर्यटक चितवन, लुम्बिनी, पोखरा, मुक्तिनाथजस्ता पर्यटकीय गन्तव्यमा पटक–पटक पुग्छ । तर, रारा पुग्दैन । रारातालको सौन्दर्यमा कमी भएर यस्तो भएको होइन । यसको मुख्य कारण जीर्ण सडकमार्ग हो । कर्णाली राजमार्गका साथै नाग्म–गमगढी सडक सुरक्षित र भरपर्दो नभएकै कारण मन लागेर पनि रारामा पर्यटक दोहोरिन सकेका छैनन् ।
राराताल पुग्ने सडकमार्ग स्तरीय नभएकै कारण पछिल्ला वर्षमा अपेक्षित पर्यटक आएका छैनन् । यो सडकमा सवारी साधन चल्न थालेको १० वर्षभन्दा धेरै समय हुँदा पनि १ किलोमिटर सडक पनि कालोपत्रे गरिएको छैन । ९३ किलोमिटर लामो नाग्म–गमगढी सडकमध्ये ६ किलोमिटर सडक कालोपत्रे गर्ने भन्दै बजेट विनियोजन गरी निर्माणका लागि बोलपत्र आह्वान पनि गरिएको थियो । तर, अहिलेसम्म काम सुरु हुन सकेको छैन । बाँकी सडकको स्तरोन्नतिमा समेत सरकारको ध्यान जान सकेको छैन । त्यसैले यो सडकमार्ग प्रयोग गर्ने पर्यटकहरूले वर्षामा हिलो र हिउँदमा धूलोसँग लड्नुपरेको छ ।
नाग्म–गमगढी सडक खण्ड मात्र होइन, रारा पुग्न सुर्खेतबाट कालीकोटको सीमासम्म पुग्ने कर्णाली राजमार्गको अवस्था पनि राम्रो छैन । कर्णाली राजमार्गको अवस्था राम्रो नभएकै कारण पछिल्लो समय यसलाई मृत्यु मार्गसमेत भन्न थालिएको छ । यो राजमार्गमा नियमित रूपमा ठूला दुर्घटना भइरहेका छन् । राजमार्ग सञ्चालनको डेढ दशकमा हजारौंको संख्यामा दुर्घटना भएको र ५ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।
प्रदेश र संघीय सरकारले सडकको दीर्घकालीन विकासको योजना नबनाउनु, बर्खाको समयमा हुने क्षतिको रोकथाम गर्ने कार्यक्रम ल्याउन नसक्नु, मर्मत–सम्भार र स्तरवृद्धिमा ध्यान नदिनुलगायतका कारण दुर्घटनामा कमी आउन सकेको छैन । सरकारी निकायहरूले सधैं बजेट अभाव देखाउँदै आएका छन् । सरकारले चालू वर्षमा विभिन्न टुक्रे सडकलाई ४ अर्ब रुपैयाँ बजेट दिँदा यसका लागि त्योभन्दा कम बजेट विनियोजन गरिएको छ । यसले सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छैन भन्ने प्रस्ट पार्छ ।
सडकमार्ग मात्र होइन, यो क्षेत्रमा पर्यटकका लागि बस्न–खान राम्रो व्यवस्था छैन । यो क्षेत्रमा दुई–चारवटा मात्र ससाना होटल छन् । धेरै पर्यटक आएका बेला टेन्टमा बस्न बाध्य हुनुपर्छ । विगतमा यहाँ पुग्ने पर्यटकका लागि होमस्टेको व्यवस्था गर्ने पनि भनिएको थियो । तर त्यो पनि नीति र भाषणमै सीमित बनेको छ । अर्कातिर यहाँ सञ्चारको समस्या पनि उस्तै छ । अहिलेका पर्यटकका लागि सञ्चारको सुविधाले ज्यादै महत्व राख्छ । तर, यहाँ स्तरीय सञ्चार सुविधा उपलब्ध गराउन सरकारले सकेको छैन ।
रारातालजस्तो पर्यटकीय गन्तव्यको विकास गर्न सके कर्णाली प्रदेशकै लागि ठूलो आन्तरिक आम्दानीको स्रोत हुन सक्थ्यो । तर, यसतर्फ प्रदेश सरकारले केही गर्न खोजेको देखिँदैन । संघीय सरकारले पनि खासै चासो राखेको छैन । पर्यटन प्रवद्र्धनका लागि पहुँच सबैभन्दा ठूलो विषय हो । पहुँच पनि सस्तो, सजिलो र भयरहित हुनुपर्छ । तर, रारातालमा जोकोही पुग्न सजिलो छैन । पर्याप्त आम्दानी हुनेका लागि हेलिकप्टरको सुविधा छ । तर, यो सबैको पहुँच पुग्ने गरी छैन । सुरक्षामा जोखिम मोलेर पुग्ने पर्यटक निकै कम हुन्छन् । त्यसैले राराको विकास गर्न सबैभन्दा पहिले त्यहाँ पुग्ने सडकमार्गलाई स्तरीय बनाउनैपर्छ ।
पर्यटन प्रवद्र्धनका लागि केही दिनअघि मात्र नेपाली व्यवसायीहरूको एक टोली भारतको सिलगुढी पुगेको थियो । त्यसबेला दुवै मुलुकका व्यवसायीबीच गरिएको अन्तत्र्रियामा भारतीय पर्यटन व्यवसायीहरूले नेपालमा पर्याप्त संख्यामा सुन्दर र मनमोहक पर्यटकीय क्षेत्र भएको तर ती क्षेत्रसम्म पुग्ने सडकमार्ग राम्रो नभएको गुनासो गरेका थिए । सरकारले भारतीय व्यवसायीहरूको भनाइलाई गम्भीरतापूर्वक लिएर त्यसअनुसार काम गरे मात्र मुलुकको पर्यटन क्षेत्रको विकास हुनेछ । नभए अवस्था भिन्न हुनेछैन ।