वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं (कास)– वाणिज्य बैंकहरूले असोजका लागि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौको तुलनामा आठवटा वाणिज्य बैंकले असोजमा ब्याजदर बढाएका छन् । यस्तै सात बैंकको ब्याजदर घटेको छ भने चारवटाको स्थिर छ । बैंकहरुले साउनदेखि ब्याजदरमा गरेको भद्र सहमति तोडिएसँगै भदौयता फरक–फरक ब्याजदर हुने गरेको छ ।
भदौयता बैंकहरुले आफूअनुकूल ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटबढ गर्ने गरेका छन् । कतिपय बैंकले त्यही अनुसार नै ब्याजदर घटबढ गरेका छन् । केहीको भने यथावत् रहेको छ ।
बैंकको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ । बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ । नबिल बैंकले मुद्दति निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ । भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो । असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । यो बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । एनआईसी एशियाले पनि ब्याजदर बढाएको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर तोकेकोमा असोजका लागि ११.०५ प्रतिशत पुर्याएको हो । प्रभु, एनएमबि, माछापुच्छे र सिद्धार्थ बैंकले यथावत् राखेका छन् ।
बैंकहरूको कर्जा लगानी बढ्न नसकिरहेका समयमा लगानीयोग्य रकम पर्याप्त रहेको छ । बैंकहरूले भने लगानीयोग्य रकम पर्याप्त रहँदा रहँदै पनि ब्याजदर बढाएका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.१४ प्रतिशत छ । यस आधारमा बैंकसँग करिब साढे तीन खर्ब लगानीयोग्य रकम छ । यद्यपिनबैंकहरूले ब्याजदर बढाउनेतर्फ प्रतिष्पर्धा गरिरहेका छन् । केही बैंकहरूले ठूला संंस्थागत निक्षेपकर्ताले निक्षेप झिक्ने त्रासले पनि ब्याजदर बढाउनुपरेको बैंकरहरूको तर्क छ ।