झनै घट्यो निजी क्षेत्रतर्फको कर्जा विस्तार «

झनै घट्यो निजी क्षेत्रतर्फको कर्जा विस्तार

काठमाडौं– सरकारले निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढाउन प्रयास गरे पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा झनै घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको साउनको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ अर्ब ३५ करोड रुपैयाँ छ । यो गत वर्षको भन्दा ०.१ प्रतिशतले घटेको हो ।

गत आवमा अर्थतन्त्रमा सुस्तता आई बजार माग सिर्जना हुन नसक्दा बैंकहरूले कर्जा विस्तार गर्न सकेका थिएनन् । यो क्रम चालु आवमा पनि दोहोरिन पुगेको हो । गत आवमा राष्ट्र बैंकले निजी क्षेत्रमा करिब १३ प्रतिशतको कर्जा लगानी वृद्धि गर्ने लक्ष्य राखेकोमा ३.८ प्रतिशतमै खुम्चिएको थियो । अर्थतन्त्रमा आएको सुस्तता, चर्को बैंक ब्याजदर, उपभोक्तामा क्रयशक्तिको ह्रासजस्ता विविध कारणले कर्जाको माग नभएको सरोकारवालाको भनाइ थियो ।

चालु आवको साउनमा पनि अवस्था सुध्रन नसक्दा झनै चिन्ता थपिएको जानकारहरू बताउँछन् । बैंकरहरूले भने अहिले (भदौ)बाट विस्तारै कर्जाको माग बढ्न थालेको बताउन थालेका छन् । विभिन्न स्किमहरू सार्वजनिक भएपछि कर्जा लिनका लागि चासो पनि बढेको बैंकरहरूको भनाइ छ ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बजारमा वस्तुको माग हुन नसक्दा कर्जा विस्तार प्रभावित भएको बताउँछन् । उनले बैंकको ब्याजदरका कारणमात्रै कर्जा प्रवाह हुन नसकेको नभई समग्र कारणले यस्तो अवस्था सिर्जना भएको बताए । उनले भने, ‘ब्याजदरको मात्र धेरै चर्चा हुने गरेको छ । तर, अहिले कर्जा विस्तार हुन नसक्नुमा ब्याजदरमात्र कारण हैन ।’ यद्यपि ब्याजदरले पनि कर्जा विस्तारमा केही प्रभाव पारेको उनले बताए । ‘ब्याजदर घट्न सकेको छैन, जसकारण केही असर त परेको छ । तर योमात्रै कारण पक्कै हैन,’ पूर्व बैंकर क्षेत्रीको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो ।

चालु आवको पहिलो महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशतले र विकास बैंकहरुको ०.२ प्रतिशतले घट्दा वित्त कम्पनीहरुको भने ०.९ प्रतिशतले बढेको छ । यो साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.१ प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.६ प्रतिशत थियो ।

चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.३ प्रतिशत, नगद प्रवाह कर्जा ७.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ५.० प्रतिशतले बढेको छ । यस्तै अधिविकर्ष कर्जा २८.९ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १६.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ३३ अर्ब (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ७७ करोड (२.० प्रतिशत)ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ । २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत थियो । २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत थियो ।

कस्तो छ अर्थतन्त्रका अन्य सूचक ?
राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत थियो । आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा २८.७ प्रतिशतले कमी आएको थियो । यस्तै कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा १२.९ प्रतिशतले कमी आएको थियो ।

साउनमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढी १ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा थियो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्बबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्