आयात घटाउन घरेलु, लघु तथा साना उद्योगको भूमिका

आव ०८०-८१ मा औद्योगीकरणको गतिलाई तीव्रता दिई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नीति सरकारले ल्याएको छ । स्वदेशी उद्योगको संरक्षण एवं प्रवद्र्धन गरिने र अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय र लागत घटाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने, लगानीमैत्री कर नीति अवलम्बन गरी विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने अनि उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गरिने कार्यक्रम राखिएको छ । कागजी रूपमा मात्रै कार्यक्रम आउने तर सधैं कार्यान्वयन पक्ष फितलो हुने हुँदा परिणाम हासिल भएको देखिँदैन ।
भन्सार विभागको तथ्यांकअनुसार आव ०८०-८१ को प्रथम महिनामा गत वर्षको प्रथम महिनाभन्दा कृषि उपजमा दोब्बर अर्थात् ११० प्रतिशतले वृद्धि भएको देखाउँछ । बढ्दो आयातको मात्राले नेपालमै उत्पादन हुने र कच्चा पदार्थको रूपमा उद्योगमा प्रयोग गरिने साधनको कम उपलब्धतालाई देखाउँछ र औद्योगिक उत्पादनको विस्तार भएको संकेत गर्दैन । ९० प्रतिशत उपभोग्य वस्तु आयातित हुनुमा उपभोग्य वस्तुको उत्पादनमा व्यवसायीकरण नहुन हो । विगतको आँकडा हेर्दा आयात झन् बढेको देखिन्छ । उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने वस्तुमा पनि आयात बढ्नाले अर्थतन्त्रलाई उकास्न उद्योगको प्रवद्र्धन, सञ्चालन र संरक्षणमा जोड दिनु अत्यन्तै अपरिहार्य देखिन्छ । हामीमा लगानीको कमीले ठूला उद्योग स्थापनामा कठिनाइ रहेकाले जनताको गुणात्मक आर्थिक सहभागिता बढाएर घरेलु, लघु तथा साना उद्योगमार्फत उत्पादन बढाई आयात कम गर्न सकिन्छ ।
नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २ को (च), (ण) र (थ) मा घरेलु, लघु तथा साना उद्योगको विषयमा उल्लेख गरेको पाइन्छ; जसअनुसार परम्परागत सीप र प्रविधिमा आधारित, श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित इन्जिन, उपकरण वा मेसिन प्रयोग गरेको भए बढीमा ५० किलोवाटसम्म क्षमताको विद्युतीय ऊर्जा प्रयोग गरेका उद्योगहरू घरेलु उद्योगमा पर्छन् भने लघु उद्यममा घरजग्गाबाहेक बढीमा २० लाखसम्म स्थिर पुँजी भएको उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा रहेको नौ जनासम्म कामदार रहेको वार्षिक १ करोडभन्दा कम कारोबार हुने २० किलोवाटसम्मको उपकरण प्रयोग गरेको उद्योगलाई लघु उद्यम भनिन्छ, साथै १५ करोडसम्म स्थिर पुँजी भएका उद्योगहरू साना उद्योगभित्र पर्छन् ।
वार्षिक ३ लाखभन्दा बढी श्रमशक्ति श्रमबजारमा आउँदा उद्योग, कलकारखानाको कमीले रोजगारीको अभावमा अधिकांश बिदेसिएका छन् । तर, गत आवमा श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकले लगभग ६ लाख जनाले विदेशमा कामको लागि श्रम स्वीकृति लिएको देखिन्छ । एकातिर आयात बढ्नु अनि अर्कातिर लाखौं नेपाली बिदेसिन लाइन लाग्ने प्रवृत्तिले नेपालमा औद्योगिक क्षेत्रमा धेरै चुनौती रहेको विस्तार र संरक्षणमा कठिनाइ रहेको प्रस्ट हुन्छ । लाखौं रोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रमा योगदान गर्न सक्ने महत्वपूर्ण क्षेत्र उपेक्षामा पर्नु गम्भीर विषय हो ।
अर्थतन्त्र सुधारमा घरेलु, लघु तथा साना उद्योगको आवश्यकता
आयातित प्रविधि, प्राविधिक परनिर्भरता र विदेशी कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग टिकाउ हुन सक्छन् । परम्परागत कला, संस्कृति र सीपअनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढेको देखिन्छ । बेरोजगारी, भ्रष्टाचार र अनियमितताले ग्रस्त मुलुकको अवस्था र विश्वव्यापी रूपमा छाइरहेको आर्थिक मन्दीको बीच यदि बजारको सम्भावना बुझेर साना प्रकृतिका व्यवसाय सुरु गर्दा सफल हुन सकिने आधारहरू देखिएको हुँदा साना तथा घरेलु तथा लघु उद्योगको महत्व बढी छ ।
औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूची २ मा घरेलु उद्योगहरूका बारेमा उल्लेख गरिएको छ । घरेलु उद्योगमा उदाहरणस्वरूप, घरमा बनाइने केक, रोटी, अचार, खाजाका सामग्री, काठ, बाँस, निगालो आदिबाट बनाइने सामान, वेब डिजाइनिङ, लेखन, ग्राफिक्स डिजाइनिङ या अन्य अनलाइन व्यवसायमा काम गर्नेहरू यसमा पर्छन् । लघु उद्यममा सानो पसल वा दुकान, लगानी गरेर गरिने कृषि व्यवसाय, आधारभूत स्कुल, कोचिङ सेन्टर, भाषा सेन्टर, कम्प्युटर सिक्ने केन्द्र, अन्य शैक्षिक सेवाप्रदायक संस्थाहरू पनि आउँछन् । घरेलु र लघु उद्यमलाई सम्भावना र अवसर हेरी लगानी बढाएर विस्तार गरी साना उद्योगको रूपमा पनि स्तरोन्नति गरिएको पाइन्छ । नेपालमा साना, घरेलु र लघु उद्योगहरूको आवश्यकता बढेकाले तल उल्लिखित कारणबाट आर्थिक उन्नतिका लागि यो महत्वपूर्ण छ ।
१. थोरै लगानी र स्रोतको व्यवस्थापनमा सञ्चालन गर्न सकिनेः यस्ता प्रकृतिका उद्योगहरूको स्थापना गर्न थोरै लगानी र स्रोतबाट सकिने भएकाले उत्पादन सुरु गर्न कठिनाइ हुँदैन । घरेलु, लघु तथा साना उद्योग थोरै लगानी, कम पूर्वाधार र सहभागितामा स्थापना गर्न सकिन्छ ।
२. रोजगारी सिर्जनाः साना, घरेलु, र लघु उद्योगहरूले रोजगारीको अवसर प्रदान गर्छन्, जसले बेरोजगारीमा कमी गरी आर्थिक सबलता बढाउँछ ।
३. परनिर्भरता कम गर्नेः साना, घरेलु र लघु उद्योगहरूले स्थानीय सामग्रीको उपयोगबाट निर्मित उत्पादन प्रदान गर्ने हुँदा उत्पादन बढी परनिर्भरता कम हुन्छ ।
४. स्थानीय उत्पादन र उपभोगः यस्ता उद्योगहरूले स्थानीय उत्पादन बढाउँछन् र उत्पादन गरेको सामग्रीले बजारमा मौका पाई स्थानीय उत्पादनलाई वृद्धि गर्छ ।
५. कला, सीप, कौशलको विकास र हस्तान्तरणः साना, घरेलु र लघु उद्योगहरूले स्थानीय स्तरमा उपलब्ध कला, सीप, कौशल विकास र हस्तान्तरणमा उल्लेख्य भूमिका खेली यसको प्रवद्र्धनमा नेतृत्व गर्छ ।
६. स्वतन्त्रता र स्वाधीनताः आयात प्रतिस्थापनका बाबजुद यसले व्यवसायीहरूलाई स्वतन्त्रता र स्वाधीनता प्रदान गर्छ ।
७. व्यावसायिक दक्षता वृद्धिः थोरै लगानी र सजिलैसँग स्थापना गर्न सकिने साना घरेलु तथा लघु उद्यमले व्यवसायीहरूलाई दक्षता वृद्धि गरी सानो लगानीबाट ठूला सफल व्यवसायी बन्न आधार प्रदान गर्छ ।
८. कुशल प्रशासकीय क्षमता हासिलः घरेलु, लघु तथा साना उद्योग सञ्चालन तथा व्यवस्थापनमा संलग्न प्रशासकले प्रशासकीय क्षमता हासिल गरी आर्थिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
९. स्थानीय बजार विकासः साना तथा घरेलु उद्योगका उत्पादनले स्थानीय बजारमा प्रवेश पाई उपभोक्ताहरूको आवश्यकता पूरा गर्न सक्छन् ।
यदि सानै लगानी र थोरै पूर्वाधारमा आफ्नै ठाउँबाट कुनै उद्यम गर्न चाहेको अवस्थामा भने घरेलु उद्योग राम्रो विकल्प बन्न सक्छ । यस्ता उद्योगबाट उत्पादन गरी त्यसलाई बेचेर स्वरोजगार बन्नुका साथै राम्रो आम्दानी गरी अरूलाई पनि प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी यसले प्रदान गर्न सक्छ । हामीले उद्योग चलाउनका लागि मुख्य स्रोतका बारेमा अरू पूर्वाधार जस्तो— यातायात र बिजुली उपलब्ध भई उद्योग सञ्चालन गर्दा नाफामूलक बन्न सक्छ, जसले समाज र देशको हितका निम्ति योगदान गर्न सक्छन् ।
सरकारी नीतिका बीच वर्तमानमा उद्योगको अवस्थाको चर्चा
जनसंख्याको लगभग ६६ प्रतिशत संलग्न कृषिक्षेत्रमा लगानी र व्यवसायका सम्भावनाका बाबजुद मुलुकले गत आवमा १ खर्बभन्दा बढीको कृषि उपज आयात गरेको देखिन्छ । राज्यको नीति उद्योगमैत्री र व्यवसायको प्रवद्र्धन हुने किसिमको नहुँदा लगानीकर्ता, उद्यमीहरू मारमा परेका छन् । राष्ट्र बैंकको हालैको तथ्यांक हेर्ने हो भने ५ खर्बभन्दा बढी रकम निक्षेपमा थुप्रिरहेको बेला आयातित वस्तुको पहिचान गरी सोहीअनुसारको वस्तु उत्पादन गर्नेका निम्ति साना, घरेलु तथा लघु उद्योग खोल्न प्रोत्साहित गरेमा निश्चय नै यसले औद्योगिक प्रवद्र्धनमा जोड दिई अर्थतन्त्र सुधार गराउन सकिन्छ ।
पछिल्लो दशकमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औसत ३.३ र कुल गार्हस्थ्य योगदान वार्षिक औसत ५.६ प्रतिशत छ । अहिले सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत सुरुवाती उद्यमममा उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ स्वीकृत गरेको छ । यसले साना, घरेलु तथा लघु उद्यम गर्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
उद्योग विभागको ०७८-७९ को तथ्यांकअनुसार साना उद्योगहरूले लगभग २ लाख ९७ हजार ७ सय ८८ जनालाई रोजगारीको अवसर दिएको देखाउँछ र यसमा पनि धेरैजसो मौसमी प्रकृतिका रोजगारीको मात्रा रहेको देखिन्छ । हाल मुलुक संघीयतामा गइसकेकाले साना, लघु तथा घरेलु प्रकृतिका उद्योगहरू सञ्चालन र संवद्र्धनमा स्थानीय सरकारलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिएको छ । किनकि स्थानीय सरकार जनताको पहिलो सरकार भएको हुँदा राज्यले स्थानीय सरकारमार्फत राज्यको पूर्ण अनुगमनमा सञ्चालन हुने गरी यस्ता किसिमका उद्योगहरूको प्रवद्र्धनमा ध्यान दिन सके र सोहीअनुसार व्यवसायी लगानीकर्ताहरू र उद्यमीहरूलाई प्रोत्साहित गरी व्यावसायिक वातावरण तयार गर्न सके देशले आन्तरिक उत्पादन बढाई आयात घटाउन सक्छ ।
निष्कर्ष
सरकारले आन्तरिक उत्पादनको उपभोगमा वृद्धि गरी विदेशी वस्तुको उपभोगलाई निरुत्साहित गर्नुपर्छ र घरेलु लघु तथा साना उद्योगको उचित संरक्षणमा ध्यान दिनुपर्छ । मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योग क्षेत्र रहेको र योद्वारा नै कृषिक्षेत्रमा रहेको निर्भरता कम गर्दै विद्यमान बेरोजगारी कम गर्न, औद्योगिक उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न र स्वदेशी खेतबारी बाँझो राखी लाखौं रुपैयाँ ऋण लिई लर्को लागेर बिदेसिने नेपालीहरूको प्रवृत्तिलाई रोक्न सकिन्छ । अनि मात्र वर्तमानमा भयावह अवस्थामा रहेको आयातलाई प्रतिस्थापन गर्न नसकिए पनि उल्लेख्य रूपमा कम भने अवश्य गर्न सकिन्छ ।