सरकारबाटै लोकतन्त्रमाथि खतरा : कोइराला «

सरकारबाटै लोकतन्त्रमाथि खतरा : कोइराला

विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले अरुबाट भन्दा सरकारबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरे । कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नन् इस्यूमा सर्वदलीय बैठक बोलाउनुको कुनै अर्थ नभएको बताए ।
“विप्लव र राजावादीको सक्रियता बढ्यो रे । लोकतन्त्रलाई संस्थागत गर्दै जनताको पक्षमा काम गरे कसैको सक्रियताले केही गर्दैन,” उनले भने, “सरकारले जनताका समस्या समाधान गर्नेतर्फ ध्यान नदिँदा प्रतिगामी तत्वबाट लोकतन्त्रमाथि प्रहार हुने सम्भावना छ ।”
लोकतन्त्र बलियो भयो भने र जनअपेक्षाअनुसार सरकारले काम ग¥यो भने कुनै पनि शक्तिले केही गर्न नसक्ने उनले दाबी गरे । उनले संविधानको अक्षरशः कार्यान्वयन गर्दै लोकतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्न सरकारलाई सुझाए ।
राजावादी र विप्लवबाट खतरा भयो भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनुले मुलुक अर्कै बाटोमा त हिंडिरहेको छैन भन्ने आशंका उब्जिएको उनको कथन थियो । विकास र समृद्धिको मुद्दामा दलहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानवअधिकारलगायतका विवादस्पद विधेयकले सरकार लोकतन्त्रप्रति उदार छैन भन्ने प्रस्ट भएको उनको दाबी थियो । “लोकतन्त्रको खम्बाका रूपमा रहेको प्रेसलाई संकुचित पार्ने काम सरकारबटै भइरहेको छ,” कोइरालाले थपे, “तपाईं मिडियाकर्मी साथीहरू ढुक्क हुनुहोस् संसदमा पेश भएको मिडियासम्बन्धी विधेयक कांग्रेसले कुनै पनि हालतमा पास हुन दिंदैन ।”
मुलुकमा अत्यधिक भ्रष्टाचार बढ्दा पनि सरकार चुप लागेर बसेको कोइरालाले बताए । “ अख्तियारले समेत खरदार र सुब्बालाई पक्राउ गरेर ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिइरहेको छ,” उनले भने ।
केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकतन्त्रमाथि चारैतिरबाट प्रहार हुन थालेकाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियनका प्रदेश संयोजक लीलावल्लभ घिमिरे, मोरङ अध्यक्ष कुमार लुइँटेललगायतले सरकारले नै प्रेसलाई संकुचन बनाउन खोज्नु दुःखद भएको टिप्पणी गरे । कार्यक्रममा साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय शंकर खरेललाई १५ हजार राशिको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युनियनले छोरा सुभाष संरक्षक रहने गरी स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालको नाममा पुरस्कारको स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्