वन नियमवाली सुधारमा अन्योल «

विरोध बढेको बढ्यै

वन नियमवाली सुधारमा अन्योल

काठमाडौं– सरकार वन नियमवाली परिवर्तन गर्ने भन्नेमा अन्योलमा परेको छ । वन नियमवाली परिवर्तन गर्नुपर्ने र गर्न नहुने दुवै थरी दबाब बढेसँगै सरकार नियमवाली परिवर्तन गर्ने या नगर्ने भन्ने विषयमा अन्योलमा रहेको हो ।

नियमवालीमा व्यवस्था भएको गोलिया काठ मापन सम्बन्धि नयाँ फर्मुला (हुबर) को चर्को अलोचना बढेसँगै उक्त बुँदा परिवर्तन गर्न काठ व्यवसायीले दबाब दिँदै आएका छन् । उक्त फर्मुला लागु भएसँगै काठ बिक्न छाडेको सरकारले नै स्वीकार गरेको छ । काठ नबिकेको भन्दै वन तथा वातावरण मन्त्रालयले फर्मुला लागु गर्ने या नगर्ने भन्ने विषयमा छलफलसमेत गरेको थियो ।

पटक पटकको छलफलमा समेत एकमत नदेखिएपछि नियमवाली परिवर्तन गर्ने या नगर्ने विषय थप अन्योलमा परेको छ । वन मन्त्रालय मातहतकै प्राविधिक कर्मचारी नै विभाजित छन् । केही कर्मचारी फर्मुला परिवर्तन गर्नुपर्ने र केही कर्मचारी फर्मुला परिवर्तन गर्न नहुने पक्षमा लबिङ गरिरहेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट), नेपाल वन पैदावार, वन मन्त्रालयकै केही उच्च पदस्थ कर्मचारहरुले हुबर फर्मुलाको विरोध जनाएका छन् ।

तर देशभरका सामुदायिक वन उपभोक्त महासंघ (फेकोफन), मन्त्रालयकै केही उच्च पदस्थ अधिकारी केही डिभिजनल वन अधिकृतले भने हुबर फर्मुला नै ठीक भएको बताएका छन् । पहिला ‘क्वाटर गर्थ’ फर्मुला प्रयोग गरी गोलिया काठ मापन गरिन्थ्यो । ‘क्वाटर गर्थ’ को भन्दा ‘हुबर’ फर्मुला प्रयोग गरी गोलिया काठ मापन गर्दा काठको केही परिमाण बढ्ने मन्त्रालयले बताएको छ । काठ उद्यमी, वन विज्ञ तथा अन्य सरोकारवालाले उक्त फर्मुला परिमार्जन गर्न मन्त्रालयलाई दबाब दिँदै आएका छन् ।

वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महातोले यस विषयमा सबैको धारणा समावेश गरेर छिट्टै ढुंगो लगाउने बताएका छन् । विरोधपछि यस फर्मुलाको प्रयोग गरी गोलिया काठ मापन गर्ने प्रक्रिया अगाडि बढाउने या नबढाउने या यसको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल अगाडि बढाएपनि निष्कर्ष ननिकालको भन्दै व्यवसायीले फेरि विरोध जनाएका छन् ।

फेनफिटका अध्यक्ष मञ्जिलबाबु मास्केले हुबर फर्मुला परिवर्तन नभएसम्म आफूहरु लिलामी प्रक्रियामा भाग नलिने बताएका छन् । ‘लामो समयदेखि सरकार हुबर फर्मुला परिवर्तन गर्ने कि नगर्ने भनेर अन्योलमा छ, परिवर्तन नगरेसम्म त हामी काठ लिलामी प्रक्रियामा भाग लिँदैनौं’ उनले भने, ‘बरु नेपाली उपभोक्ताको माग विदेशी काठ आयात गरेर पूरा गर्छौं ।’

मास्केले गोलिया मापन गर्ने फर्मुलाले गर्दा स्वदेशी काठ महंगो भएको र उपभोक्ताले किन्नै छाडेको भन्दै यही फर्मुला लागु भएमा स्वदेशी काठ नबिक्ने र कुइएर जाने आवस्था आउने बताए । कपिलवस्तु डिभिजनल वन अधिकृत विजय सुवेदी राजस्व दर हेरफेर गरे पनि अब फर्मुला परिवर्तन गर्न नहुने बताउँछन् । ‘काठ नबिकेको भन्ने कुरा फिल्ड आएर हेर्ने कि काठमाडौंमा बसेर हल्ला गरेर हुन्छ ? काठ बिकेका छन्, नयाँ फर्मुला नै ठीक छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्