अपि हिमाल भ्रमण वर्ष मनाइने

धनगढी– पर्यटन विकास गर्न दार्चुला जिल्लामा पर्ने अपि हिमाल भ्रमण वर्ष २०८० मनाइने भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले असोज महिनादेखि अपि हिमाल भ्रमण वर्ष मनाउने तयारी गरेको हो ।
गाउँपालिकाले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले विश्व पर्यटन दिवस २०२३ को अवसरमा असोज १० गते सो भ्रमण वर्ष उद्घाटन गरिने बताए । उनले हिमालको बेस क्याम्प भ्रमण गर्ने पर्यटन संस्कृति विकसित भएको हुनाले तत्काललाई अपि हिमालको बेस क्याम्प भ्रमण गर्ने व्यवस्था मिलाइएको बताए ।
२०७९ मा अपि हिमाल भ्रमण सप्ताह गरेको गाउँपालिकाले यसपटक प्रदेश सरकारको सहयोगमा भ्रमण वर्ष आयोजना गरिरहेको छ । समुद्री सहतबाट सात हजार १३२ मिटर उचाइ रहेको अपि हिमालको बेस क्याम्पसम्म जाने आधारभूत पूर्वाधार तयार भएको अध्यक्ष बोहराले बताए । उनले भ्रमण वर्षमा पर्यटक ल्याउन नेपाल टुर एण्ड ट्राभल एजेन्सी एसोसियसन (नाट्टा)ले समन्वय गरिरहेको बताए ।
अध्यक्ष बोहराका अनुसार घुसादेखि अपि बेस क्याम्पसम्म ३० किलोमिटर पदमार्ग निर्माण गरिएको छ । उनले पदयात्रा सुरु गर्नुपर्ने मकरी गाड बजारमा पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालन गरिएको बताए । पदमार्गमा ठाउँ ठाउँमा चिन्हसहितको सूचना पार्टी समेत राखिएको बताए । उनले पदमार्गमा पर्यटक रेस्ट सेन्टर र सेल्फी पोइन्ट पनि निर्माण गरिएको बताए । गाउँपालिकाको पहलमा पदमार्गमा खाना र बासका होम स्टे सञ्चालन गरिएका छन् ।
गाउँपालिका अध्यक्ष बोहराले स्थानीय युवालाई तालिम दिई पथ प्रदर्शक बनाइएको बताए । अपि बेस क्याम्पमा दुईवटा आवास गृह निर्माण गरिएको बताउँदै अध्यक्ष बोहराले सो आवास गृहमा दैनिक ६० जनालाई आवास र खानाको व्यवस्था भएको जनाए । अपि हिमालको बेस क्याम्पबाट अपि हिमालका साथै नाप्पा हिमालसमेत अवलोकन गर्न सकिन्छ ।
अपिको बेस क्याम्पबाटै नाप्पा हिमालको बेस क्याम्प पनि भ्रमण गर्न सकिन्छ । यसका साथै पदमार्गमा पर्ने काली ढुंगा ताल, भभय ताल, भभय हिमाल, रिउदे पानी हिमताल, नाउर, झालर, हिम चितुवा, डाँफे, अपि हिमालका बासिन्दाको संस्कृति, भेषभुषा, मल्देसी संस्कृति, सौका समुदायको संस्कृति, होम स्टेमा स्थानीय परिकार, खण्डेश्वरी मि श्रृंखला अपि बेस क्याम्प भ्रमणको महत्वपूर्ण आकर्षण रहेको बताए ।
पाँच वर्षभित्रै पर्यटन विकास हुने गरी योजना बनाउँछौं : पर्यटनमन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले पाँच वर्षभित्र पर्यटन विकास गर्ने गरी पर्यटनका योजना बनाएर कार्यान्वयन गरिने बताएका छन् । अपि हिमाल भ्रमण वर्षबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री धामीले चालु आर्थिक वर्षकै बजेटबाट पर्यटन क्षेत्रमा केही परिवर्तन आइसकेको देखिएको बताए ।
उनले आउँदा वर्षमा पर्यटनको योजनाको संख्या घटाउने र साच्चिकै पर्यटन विकास हुने योजनामा मात्रै बजेट हालिने बताए । ‘जसले पनि आफ्नो कुल देउताको मन्दिर बनाउन बजेट माग गर्ने, आफ्नो छेउको तालमा बजेट माग गर्ने, अनि पर्यटन विकास भएन भन्ने गरेका छन्,’ मन्त्री धामीले भने, ‘कुन कुन साच्चिकै पर्यटकीय क्षेत्र हुन र कुन होइनन् भन्ने कुरामा हामी सबैको एक मत हुनुपर्छ । अबका दिनमा हामीले पर्यटन गुरुयोजनाले बनेका पर्यटन क्षेत्रमा मात्रै लगानी गर्छौं । योजनाहरू कम हुन्छन् र त्यसको परिणाम पनि आउँछ ।’
उनले एकीकृत पर्यटन विकास परियोजना तयार गरी संघ र प्रदेशको बजेट कोल्याब्रेसन गरेर पर्यटनमा लगानी गर्ने तयारी मन्त्रालयले गरेको बताए । उनले संघ र प्रदेशको पर्यटन मन्त्रालयबीच यो विषयमा पटक पटक छलफल भएको बताउँदै आउँदो वर्षदेखि खप्तड, रामारोशन, बडिमालिका, अपि हिमाल, साइपाल हिमाल, शुक्लाफाँटामा लगानी केन्द्रित गरिने बताए । उनले ती क्षेत्रमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा पुर्याउने र त्यसको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने योजना तयार भइरहेको बताए ।
उनले यस वर्ष प्रदेश सरकारले खप्तडमा बिचपानीसम्म पदमार्ग निर्माण गर्ने र बडिमालिकामा माथिल्लो तहमा र अप्ठेरो ठाउँमा रेलिङसहितको पदमार्ग निर्माण गरिने बताए । उनले बडिमालिकामा पर्यटन बोर्डले मार्तडीबाट पदमार्ग बनाउन थालेको बताउँदै आगामी वर्षदेखि एकीकृत पर्यटन विकास आयोजना अन्तर्गत प्रदेश र संघको बजेट कोल्याब्रेसन गरेर एकसाथ काम गरिने बताए ।
उनले सोही योजनाअन्तर्गत अपि हिमाल गाउँपालिकासँग सहकार्य गरी अपि बेस क्याम्प प्रवर्द्धन गरिरहेको बताए । उनले अपि बेस क्याम्प भ्रमणको उद्देश्य अपि हिमाल आरोहण खुलाउने र विदेशी पर्यटक आकर्षित गर्ने रहेको बताए । मन्त्री धामीले पर्यटक भित्र्याउन भारतको उत्तराखण्ड र उत्तर प्रदेशका पर्यटन व्यवसायीलाई समेत सुदूरपश्चिमको पर्यटनसँग जोड्न मन्त्रालयले काम गरिरहेको बताए ।