संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराउन आह्वान «

संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराउन आह्वान

विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ ।
विगतभन्दा फरक रूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताए । सरकारले राष्ट्रिय भावनालाई थप जागृत गराउन झण्डालाई प्राथमिकता दिएर दिवस मनाउन लागेको हो ।
दिवसका दिन असोज ३ मा उपस्थित भई झण्डा बोकेर -यालीमा सहभागी हुन सबै कर्मचारीलाई सरकारले आग्रह गरेको छ । दिवसका सन्दर्भमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरिएको गृहसचिव राईले जानकारी दिए ।
असोजको २ देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ । मुख्य दिन असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्