काठमाडौं महानगरपालिकाले पाठ्यपुस्तक तयार गर्ने «

काठमाडौं महानगरपालिकाले पाठ्यपुस्तक तयार गर्ने

काठमाडौं महानगपालिकाले स्थानीय तहमा पढाइ हुने पाठ्यपुस्तक आफैंले तयार गर्ने भएको छ । महानगरपालिका शिक्षा समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पाठ्यपुस्तक निर्मााण गर्न पाठ्यक्रम लेखनका लागि दुईवटा समिति गठन गरेको छ । कक्षा एकदेखि आठसम्म ऐच्छिक विषयका रुपमा रहने नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि महानगरपालिकाका शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा एउटा समिति गठन गरिएको छ । यस्तै अंग्रेजी र नेपाली विषयका लागि गठन गरिएको अर्को समितिमा पनि अध्यक्ष केसी नै रहेका छिन् ।
ती समितिलाई काठमाडौं महानगरपालिकाभित्र सञ्चालन हुने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ । पुस्तक लेखनका काम कात्तिकको दोस्रो साताबाट सुरु गर्ने महानगरको तयारी छ । शैक्षिकसत्र ०७६ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमा पुग्ने कामपाको दाबी छ । पाठ्यक्रममा काठमाडौंको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मुर्तीकला, पर्यटनजस्ता विषयलाई समावेश गरिनेछ । काठमाडौं महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७ सय ५० विद्यालय सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्