युवा सम्मेलनको प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं– नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ ।
तेस्रो सिखर सम्मेलनको यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, वरिष्ठ उद्यम डा. उपेन्द्र महत्तो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढि वक्ताका रुपमा रहेका छन् ।
सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मुल आयोजक कमिटिका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमुलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताए ।
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निमार्ण गर्नुपर्ने बताए । उनका अनुसार वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको छ ।