Logo

विपद्मा साल्ट ट्रेडिङको भूमिका महत्वपूर्ण

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेशनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । मन्त्री रिजालले कर्पोरेशनको ६१औं वार्षिकोत्सवमा सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउन सफल भएको बताएका हुन् ।

उनले नेपाल सरकारले बजार अनुगमनमा सक्रियता अपनाउँदै आफू मातहतका निकायलाई बजारभाउ नियन्त्रणमा भूमिका खेल्न प्रोत्साहित गर्दै आएको साल्ट ट्रेडिङबाट महशुस गरेको बताए । सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सरकारले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।

‘साल्ट ट्रेडिङ नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणमा सहजरुपमा पुर्‍याएको छ । वित्तीय लगानीको भार खेपेर पनि ६/६ महिनाको संचिति कायम राख्नु सहज कुरा होइन’ मन्त्री रिजालले भने, ‘सेवामूलक व्यावसायिक संस्थाको रुपमा कर्पोरेशनले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न सामाजिक संस्थालाई पुर्‍याएको योगदान सह्रानिय नै छ ।’ उनले दैनिक उपभोग्य वस्तुको कारोबारका साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान राम्रो नै पुराएको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले साल्ट ट्रेडिङ रासायनिक मल समयमा आपूर्ति गर्न ठूलो भूमिका रहेको बताए । उनले साल्ट ट्रेडिङले समयमा रासायनिक मल खरिद गरी आयात गर्दा सरकारलाई कृषकसमक्ष सहज रुपमा अनुदानको मल आपूर्ति गर्न सहयोग भएको बताए । साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्णरुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रयत्नशिल रहेको बताए ।

कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घरदैलोमा सेवा पुर्‍याउन सफलता पाओस भन्ने नेपाल सरकारको भावनालाई मूर्तरुप दिन निरन्तर लागिरहने उनको भनाइ छ । सरकारले कपोरेशनलाई विश्वास गरी समय समयमा विभिन्न दायित्व निर्वाह गर्न निर्देशन र जिम्मेवारी प्रदान गरेको उनले बताए । सञ्चालक समितिका सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लीलाप्रसाद शर्माले कर्पोरेशनको प्रगतिको कामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्