स्वरोजगार बन्ने आशमा सीप सिक्दै महिला

गजुरी– परम्परागत पेशा तथा कर्मबाट मानिस विस्तारै बाहिरिँदै गएका छन् । परम्परागत पेशा तथा कर्मबाट भने जस्तो कमाइ नहुने भएपछि युवायुवतीहरू सीपयुक्त काम गर्न सीप सिक्ने रुचि बढाएका छन् । सीप विनाको काम दिगो र भरपर्र्दो नहुने भएकाले आफ्नो रुचि र क्षमताअनुसारका सीप सिक्न तल्लिन छन् युवायुवती । पछिल्लो समय सामान्य लेखपढ भएका हुन् वा माध्यमिक शिक्षा हासिल गरेका महिला ।
अधिकांशको रोजाइ बनेको छ सिलाइ कटाइ तालिम । सरकारले पनि व्यावसायिक तथा सीप विकास गर्न तालिम केन्द्र सञ्चालन गर्दै आएको छ । व्यावसायिक तथा सीप विकास केन्द्र गजुरीले सञ्चालन गरेको नि:शुल्क सिलाइ तालिमम लिँदैछिन् सिद्धलेक गाँउपालिका–६ की सम्झना मगर । उनी तालिम सकिएपछि स्वरोजगार बन्ने धोको बोकेर सिलाइ तालिम लिँदैछिन् । तालिम सकेपछि आफै लगानी गरेर सिलाइ पेशा गर्ने सोचमा छिन् उनी ।
गजुरी–७ बगैचाकी भगवती बराल दैनिक ३८० रुपैयाँ भाडा तिरेर गजुरीसम्म आएर सिलाइ तालिम लिँदैछिन् । बराल पनि तालिम सकेपछि स्वरोजगार बन्ने आशमा तालिम लिन आएको बताउँछिन् । गजुरी गाउँपालिका–२ भूमिडाँडाकी सकिकला सिल्वाल घरबाट फुर्सद निकालेर तालिम लिन आएको र तालिमपछि आफै लगानी गरेर सिलाइ पसल खोल्ने सोच बनाएर तालिम लिन आएको बताउँछिन् । गजुरी बजारकै अर्जला खतिवडा पनि बच्चा स्कुल जान थालिसके । अब दिनभरि फुर्सद हुन्छ ।
सीप सिकेर छोराछोरी पढाउने खर्च जुटाउने सपना बोकेर तीन महिने सिलाइ कटाइ तालिम लिँदैछिन् । ‘सिलाइ कटाइ तालिम आधारभूत र एण्डभान्स गरी दुई किसिमका छन् । पहिलो पटक सिलाइ तालिम लिनेलाई आधारभूत र आधारभूत तालिम लिएर व्यवसाय तथा रोजगारी गरिरहेकालाई एण्डभान्स तहको तालिम दिइन्छ,’ प्रशिक्षक सुजाता लोप्चनले बताइन् । तालिमका सहभागीले १२ सम्मको दुना, सामान्य नेपाली भाषामा लेख्न र स्केलको बारेमा ज्ञान हुनुपर्छ ।
आधारभूत तालिममा छुक्रे पेटिकोट, सादा टोपी, बाबा सुरुवाल, पेटेभोटो, सर्ट, काने टोपी, ब्लाउज, पाइजामा, फ्रक, म्याक्सी, साधारण कुर्था, सुरुवाल लगायका कटाइ र सिलाइ सिकाउँछौ । तीन महिनामा ७८ कार्यदिनको तालिम अवधिका सहभागीले १८ किसिमको कटाइ र सिलाइ सिक्छन् । साथै उहाँहरूलाई व्यावसायिक ज्ञानको सैद्धान्तिक ज्ञान पनि दिन्छौं । तालिम अवधिमै तालिम सिकेपछि व्यवसाय गर्न प्रोत्साहन गर्छौं । एक जनाका लागि ७८ कार्यदिनको तालिममा प्रतिसहभागी पाँच हजारदेखि ६ हजारसम्म सामग्रीमा खर्च आउने प्रशिक्ष्क लोप्चनले बताइन् ।
व्यावसायिक तथा सीप विकास केन्द्रले केन्द्रमै हरेक आर्थिक वर्षमा २०/२० जनालाई तीन चरणमा तालिम दिँदै आएको छ । सिलाइ कटाइमा महिलाको आर्कषण दिनप्रतिदिन बढ्दो छ । घरभित्र बसेर बालबच्चा हेदै काम गर्न सकिने, बोडिङ स्कुलमा बालबच्चा पढाउन बजारमा बसेका आमाको दिउँसोको समय खाली हुने, महिलामैत्री काम, थारै लगानीमा स्वरोजगार बन्न सकिने भएकाले महिलाको आकर्षणमा सिलाइकटाइ तालिम परेको व्यावसायिक तथा सीप विकास केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेले बताए ।
तीन महिनाको तालिम लिएपछि २० हजार लगानीमा आफै बसेको कोठाको छेउमा कल राखेर महिनाको १०/१५ हजार कमाइ गर्न सकिन्छ । एक किसिमले हेर्दा स्वरोजगार भइयो । बालबच्चा पनि पढाउन पाइयो । परिवारसँंगै बसेर घरखर्च चलाउन सकियो । श्रीमान्ले कमाएको बचत हुन्छ भनेर पनि महिलाहरू सिलाइप्रति आकर्षित भएका छन् । अहिलेसम्म तालिम लिएकामध्ये सबैभन्दा बढी रोजगारी भएको तालिम पनि सिलाइ कटाइ नै हो ।
केन्द्र स्थापनाको १४ वर्ष पूरा हुँदा एक हजार ५२८ जनालाई सिलाइ तालिम दिएको र अधिकांश मानिस स्वरोजगार भएको बताउँछन् केन्द्र प्रमुख पाण्डे । माध्यमिक तहमा पनि ऐच्छिक वा अनिवार्य विषयका रूपमा कक्षा ९ र १० मा सीप विकास सम्बन्धित पाठ्यक्रम राख्न नसकिने त होइन । सक्दा त कक्षा १२ सम्म नै राख्दा राम्रो । त्यसो हुँदा स्कुलको औपचारिक अध्ययनसँगै सीप पनि सिक्थे र परीक्षाफल आउने बेलासम्म रोजगारी हासिल गर्थे भन्छन् केन्द्र प्रमुख पाडे ।