पर्यटन प्रवर्द्धन गर्न मनाङमा फुटबल

मनाङ– पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएकोमा विज्ञ तथा खेलाडीहरूले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा जनचेतना गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरूले सो कुरामा जोड दिएका हुन् ।
जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउन्डेसन र वाइल्ड एन्ड फ्री फाउन्डेसनको संयुक्त आयोजना, मनाङका विभिन्न स्थानीय तहको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना गरिएको खेलमा नेपालका ख्यातिप्राप्त कलाकार, खेलाडी, मिस नेपाल वल्र्ड–२०२३, मिस्टर नेपाल–२०२३ लगायतका सेलिब्रेटीहरू सहभागी थिए ।
हिमालयन स्नोलेपर्ड टिम तथा मनाङका तीनवटा स्थानीय टिम कजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच भदौ २५ देखि २७ सम्म मनाङका तिमाङ, पिसाङ र मनाङ मुङ्जीमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । कार्यक्रममा मनाङमा प्रमुख जिल्ला अधिकारी शुप्रभा खनाल ढुङ्गेलले मनाङ पर्यटनका लागि अथाह सम्भावना भएको जिल्ला भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धिलगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल आयोजना गरिएकोमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको आयोजक बायोकोस नेपालका निर्देशक पारसविक्रम सिंहले बताए । यस्तै आयोजक आन्ट फाउन्डेसनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धि एवं खेल पर्यटन/पर्या पर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको प्रतिक्रिया दिए ।
अमेरिकाको वाइल्ड एन्ड फ्री फाउन्डेसनका संस्थापक म्याटले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि तथा पर्यापर्यटनका लागि नेपालमा आएर खेलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै नेपालमा खेल तथा पर्या पर्यटनको अथाह सम्भावना भएको बताए । मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता पर्यटन व्यवसायी संघ मनाङका पर्यटन अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
यस्तै मनाङ चिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा आयोजित यस कार्यक्रमले नेपालकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । मनाङको यस क्षेत्रमा लोपोन्मुख प्रजातिका करिब १२ देखि १५ वटासम्म हिम चितुवा रहेको बताइन्छ । हिमचितुवाको मुख्य आहारका रूपमा रहेको नाउर पनि लोप हुँदै जानेक्रम बढेकाले पनि हिमचितुवा संरक्षण र याक संरक्षणका लागि नाउरहरूको संरक्षणसमेत आवश्यक रहेको यस क्षेत्रमा अध्ययन गरिरहेका विज्ञहरूको जोड छ ।