Logo

डेढ करोड खर्चेर ३४ घरधुरी स्थानान्तरण

जुम्ला– मुगुको छायानाँथ रारा नगरपालिका–१२ लुम्सा गाउँका ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीपहिरोको उच्च जोखिममा रहेका तथा विपद्बाट प्रभावित ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

लुम्सा गाउँका ३४ घरपरिवार गत साल भएको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले प्रभावित भएका थिए । अधिकांश घर चर्किएका थिए भने केही भत्किएका थिए । नागरिकको त्रासका बीच बस्न बाध्य थिए । तर सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय, जुम्लाले लुम्सा गाउँका बाढीपहिरोको उच्च जोखिममा रहेका ३४ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको आयोजना कार्यालयका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले बताए ।

उनले भने, ‘बाढीपहिरोको उच्च जोखिममा रहेको र विगतका विपद्बाट समेत प्रभावित लुम्साका ३४ घरधुरीको बस्ती नै सारिएको छ । पूर्ण अनुदानमा सुविधायुक्त घर निर्माण गरिदिएका छौं । लुम्सा गाउँको विस्थापित घरपरिवारलाई कार्मारोङ गाउँपालिका वडा नं. ९ स्थित चिमाथमा सारिएको हो ।’ सुरक्षित स्थानमा बलियो घर पाएपछि स्थानीय समेत उत्साहित भएका छन् । अब ढुक्क दैनिकी गुजार्ने उनीहरूको भनाइ छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको ‘बस्ती विकास कार्यक्रम’ अन्तर्गत संघीय सरकारको डेढ करोडभन्दा बढी लगानीमा ३४ घर निर्माण गरी बस्ती सारिएको सब–इन्जिनियर खड्काले जानकारी दिए ।

बस्ती विकास कार्यक्रमअन्तरर्गत दलित आवास निर्माण कार्यक्रममार्फत प्रतिघरलाई ५ लाख लगानी गर्दा ३४ घर निर्माणका लागि १ करोड ७० लाख रुपैयाँ लगानी भएको छ । १ करोड ७० लाख खर्चिएर विपद् जोखिममा रहेका बस्तीहरू सुरक्षित स्थानमा सारिएको हो । विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक–पटक सरकारसँग बस्ती सार्न माग गरेपछि गत आव २०७९/८० को बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजनाले घर निर्माणको काम थालेको थियो ।

उक्त आयोजनाको कार्यालयले साबिक कर्णालीका ५ जिल्लामा भवन, सडक, आवास निर्माणको काम गर्दै आएको छ । ‘पहिला निकै जोखिमकै बीच बस्न बाध्य थियौं । अहिले सुरक्षित स्थानमा बस्ती सरेपछि ढुक्क भएका छौं ।’ स्थानीय पूर्णचन्द्र विश्वकर्माले भने, ‘हामीले मुगुका माननीयदेखि प्रदेश र संघीय सरकारलाई बस्ती सार्न माग नगरेका हैनौं । तर हाम्रा समस्याको सुनुवाइ भएन । सघन सहरी तथा भवन निर्माण आयोजनाको लगानीमा पूर्ण अनुदानमै घर बनेपछि खुसी छौं । अब नागरिक भएको अनुभूति भएको छ ।’

जीउज्यान नै जोखिममा राखेर भत्किए चर्किका घरमा बस्न बाध्य लुम्सावासीले नयाँ घर पाएसँगै यो पुण्यको काम गर्ने आयोजनाको कार्यालय, निर्माणमा सक्रियता देखाउने कर्मचारी निर्माण व्यवसायीलाई लुम्सावासीले धन्यवाद दिएका छन् । गाउँवासी नै उत्साहित भएका छन् । नयाँ बस्तीमा सुरक्षित खानेपानी, आरसीसी सडकलगायतका आधारभूत पूर्वाधार निर्माण गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लाले जनाएको छ । उक्त बस्तीलाई नमुना बस्तीका रूपमा विकास गरिनेछ । छायानाथ जाँदा बाटोमै पर्ने उक्त बस्तीलाई आकर्षण बस्ती बनाएमा आउजाउ गर्ने पर्यटकको समेत आकर्षण बढ्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्