ठेक्काकाे समय सकिँदै, म्याद थप्न निवेदन «

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ

ठेक्काकाे समय सकिँदै, म्याद थप्न निवेदन

जाजरकोट– निर्माण व्यवसायीले तोकिएको समयमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण नगर्दा कर्णाली प्रदेशका औषधि स्टोर दुई ठाउँमा हुँदै आएको छ । लुम्बिनी प्रदेशको नेपालगन्ज र सुर्खेतमा भाडा लिएका घरमा भण्डार हुँदै आएको हो ।

सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै पूरा नहुँदा समस्या आएको छ । एक पटक थपिएको म्यादसमेत पूरा हुनै लाग्दा निर्माण व्यवसायीले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको बताएका छन् । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।

१० जिल्लाको औषधि आपूर्ति गर्नका लागि निर्माण थालिएको भवन समयमै निर्माण नहुँदा हैरानी भएर भाडाको घरमा औषधि राख्दै आएको केन्द्रले बताएको छ । एक वर्षदेखि औषधि भण्डारणको काम निजी घरमा हुँदै आएको छ । मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको प्रदेश औषधि आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगन्जमा स्टोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।

उनले भने, ‘गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन । औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधिमात्र केन्द्रमा ल्याउने गरिएको छ ।’ प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका १० वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । भवन नहुँदा औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको छ । सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन ।

बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ । पहिलो पटक थपिएको म्यादअनुसार एक महिना बाँकी छ तर काम गर्न धेरै बाँकी रहेको बताइन्छ । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताइन् । उनका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनुलगायतका कारण समयमा नै काम गर्न नसकिएको बताइन्छ ।

वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागिपरेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको बताइन्छ । भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ । संघीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकेता गरिरहेको बताए । उनका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ । थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको जानकारी दिए ।

हिमाली जिल्लाको ढुवानी तथा स्टोर नेपालगन्जमा
सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा नहुने हुँदा चार जिल्लाका लागि भन्दै नेपालगन्जमा औषधिको स्टोरसँगै ढुवानी कार्य हुँदै आएको छ ।

डोल्पा, हुम्ला, मुगु र जुम्लाका लागि नेपालगन्जमा रहेको स्टोरबाट ढुवानी हुँदै आएको छ । सडकको पहुँच कम्जोर भएका यी जिल्लामा हवाई मार्गबाट औषधि ढुवानी हुँदै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । सुर्खेतमा स्टोर गर्ने ठाउँ नहुँदा अधिकांश सामग्री नेपालगन्ज स्टोर गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्