आईसीसी कोषाध्यक्षमा जापानबाट थापा र श्रेष्ठको दाबेदारी «

आईसीसी कोषाध्यक्षमा जापानबाट थापा र श्रेष्ठको दाबेदारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा जापानबाट वर्तमान युवा संयोजक सुदन थापा र आईसीसी सदस्य महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान युवा संयोजकसमेत रहेका सुदन थापाले लामो विदेश बसाइ, भोगाइ तथा निरन्तर सामाजिक सक्रियताबाट सिकेका ज्ञान, सिप र अनुभवलाई गैरआवासीय नेपाली अभियानमा लगाउने दृढता सहित आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
“गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव प्रयोग गर्दै संस्थालाई थप उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउँदै लैजान कार्ययोजना पूरा गर्ने क्षमतासहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यहाँहरुको साथ, सहयोग र सल्लाहको अपेक्षा राखेको छु,” थापाले भने । एनआरएनए एनसीसी जापानको कार्यसमिति सदस्य, उपाध्यक्ष, अध्यक्ष, आईसीसीको युवा प्रतिनिधि हुँदै थापा अहिले युवा संयोजकको जिम्मेवारीमा छन् ।
यस्तै जापानबाटै लामो समयदेखि गैरआवासीय नेपाली अभियानसँगै वित्तीय क्षेत्रमा समेत संलग्न आईसीसी सदस्य महेशकुमार श्रेष्ठले आफ्ना कार्ययोजना र एजेण्डासहित आईसीसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सिटी एक्सप्रेस ग्रुपसँग आवद्ध रहेका श्रेष्ठले आफूले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड रुपैयाँ संकलन गर्ने प्रतिवद्धतासमेत जाहेर गरेको रोजगार मञ्च अनलाइनमा समाचार छ ।
“एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन तथा संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितव्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नितान्त आर्थिक व्यवस्थापनका लागि लामो समयसम्म फाइनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्ने अठोटसहित कोषाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेको हुँ,” श्रेष्ठले भने । आईसीसी सदस्य श्रेष्ठले एनआरएनए आईसीसीको नेपालको संविधानमा एनआरएनको अधिकार सम्बन्धी समितिको संयोजक, एनआरएन विधान संशोधन तथा नियमावली निर्माण सुझाव समितिको क्षेत्रीय संयोजक, व्यापार तथा लगानी प्रवद्र्धन समितिको सहसंयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्