Logo

जलपका गहनामा खुल्दै उपभोक्ता

पहिले–पहिले जलप लगाएका गहना किन्न संकोच मान्ने उपभोक्ता अहिले खुलेर आउन थालेको व्यापारीहरु बताउँछन् ।

काठमाडौं– सुनको भाउ अचाक्ली बढेपछि उपभोक्ता सुनजस्तै देखिने धातुका गहनातिर आकर्षित भइरहेका छन् । त्यसो त सुन धेरै महँगो नहुँदा पनि ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भन्दै मानिसहरु जलप लगाएका गहना लगाउँथे ।

तर, पछिल्ला दुई–तीन वर्षमा भने यसको उपभोग ह्वात्तै बढेको छ । कोभिड महामारीका कारण भएको लकडाउनपछि अकासिएको सुनको मूल्य अहिले पनि बढ्दो क्रममै छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले त्यसको असर नेपालमा पनि परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले लकडाउन र त्यसपछिको आर्थिक मन्दीका कारण उपभोक्ताको आय घटेका कारण सुनको व्यापार पनि ओरालो लागेको बताए । उनका अनुसार अहिले पसलमा सुन किन्नेभन्दा बेच्ने उपभोक्ता बढी आउँछन् । मूल्यवृद्धिकै कारण सिजनको समयमा पनि सुनको व्यापार उत्साहजनक नरहेको उनले बताए । ‘अहिले सुनचाँदीको मुख्य सिजन हो, तर व्यापारमा मन्दी छ । यस्तो मन्दी सुरु भएको धेरै भइसक्यो । सुन महँगो भएपछि उपभोक्ता सस्तोमा पाइने जलपवाला गहनामा जाने नै भए,’ उनले भने ।

काठमाडाैं गोठाटारका सुन व्यापारी सोनु सुनुवारले चाडबाड आएकाले व्यापार केही बढे पनि पहिलेका वर्षहरुमा जस्तो नभएको बताए । सोही ठाउँको कालिका ज्वेलर्सका सञ्चालक तेजबहादुर प्रधानले लकडाउनका कारण लामो समय थला परेको व्यवसायले केही राहत महसुस गर्न थाले पनि सोचेअनुसार कारोबार नभएको दुखेसो पोखे । ‘मानिसको आम्दानीको स्रोत घटेको छ । खान–लाउन नै मुस्किल भएको बेला सुनको व्यापार हुने कुरै आएन नि,’ उनले भने ।

हुन पनि आजभोलि सुनचाँदी पसलमा भन्दा जलप लगाएका नक्कली गहना पसलमा बढी उपभोक्ता देखिन्छन् । पसलमा भेटिने धेरैजसो उपभोक्ता भन्छन्– सुन त लगाउनै नसकिने भयो, अब यसमै चित्त बुझाउनुपर्ने अवस्था छ । कतिपय भने असुरक्षाका कारण सक्कली सुन नलाएको तर्क गर्छन् । सुनका गहना हराए–चोरी भएको खण्डमा ठूलै आर्थिक नोक्सानी हुने भएकाले पनि नक्कलीमा उपभोक्ता आकर्षित भएका हुन् । गहना लुटिएको, हराएको उजुरी दैनिकजसो प्रहरीमा आउने गरेको छ । हालैमात्र प्रहरीले सुनको सिक्री लुट्ने गिरोहलाई नै समातेको थियो ।

सुुनको विकल्पका रुपमा जलप लगाएका गहनाको बिक्री बढेको सम्बद्ध व्यापारीहरुले बताएका छन् । सस्तो र सुरक्षाका दृष्टिले पनि ढुक्क भएकाले यस्ता गहनाको बिक्री बढेको असन बजारमा जलप लगाएका गहनाको व्यापार गर्ने तारा राईले बताइन् । ‘माग बढेपछि व्यापार पनि बढ्ने नै भयो । नयाँ–नयाँ डिजाइनमा यस्ता गहना खोज्ने अहिले धेरै आउँछन्,’ उनले भनिन् । पहिले कस्मेटिक सामानमा केन्द्रित उनको व्यापार अहिले जलपवाला गहनातिर मोडिएको छ ।

असनमै आठ वर्षदेखि जलपका गहनाको व्यापार गर्दै आएका अशोक गुप्ताले केही वर्षअघिसम्म महिलाहरु यस्ता नक्कली गहना किन्न संकोच मान्ने गरेकोमा अहिले खुलेर आउने गरेको अनुभव सुनाए । ‘सुन किन्न सक्नेले पनि जलपका गहना लगाउने गरेका छन् । जसले गर्दा यस्ता गहनाको माग र मूल्य दुवै बढेको छ । राम्रो र सस्तो भएका कारण सुनजस्तो नयाँ डिजाइनले पछिल्लो समय सक्कली सुनको स्थान लिएको छ,’ उनले भने । सक्कली सुनलाई सम्पत्तिको रुपमा जम्मा गर्ने र त्यसको सट्टा नक्कली गहना लगाउने प्रचलनसमेत बढेको उनले बताए ।

संखुवासभा घर भई हाल भक्तपुर बस्दै आएकी मीना चालिसे र रिया चालिसेले यो वर्षको तीजका लागि जलपवाला गहना किनेको सुनाए । सुनजस्तै देखिने तर त्योभन्दा धेरै सस्तो हुने भएकोले उनीहरुलाई यस्तै गहना मन पर्छ । हराएर ठूलो नोक्सान होला भन्ने पीर पनि भएन । सिन्धुपाल्चोक घर भई काडाँघारी बस्दै आएकी निरुता घिमिरे पनि यो वर्षको तीज नक्कली गहनाले नै टार्ने सोचमा छिन् । ‘सुन लगाउन रहर त लाग्छ, तर भाउले आकाश छोएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्