कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान

सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान नगन्य थियो । ग्लोबल इकोनोमी डटकमले त्यस बेला प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल ०.७१ प्रतिशत थियो । जबकि सन् २०२१ मा अरुबा भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशत थियो भने दक्षिण एसियाली सानो टापु देश माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७.६१ प्रतिशत थियो ।
त्यस्तै गरेर २०१९ मा पर्यटन क्षेत्रले मकाउको कुल गार्हस्थ्य उत्पादनमा ५२.२ प्रतिशतको योगदान गरेको थियो । उता माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ३२.५ प्रतिशत थियो । त्यस्तै गरेर सेसेल्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २६.४ प्रतिशत थियो भने भर्जिन आइल्यान्ड (बेलायत मातहत रहेको टापु) को कुल गार्हस्थ्य उत्पादन २५.८ प्रतिशत रहेको थियो । साथै, अमेरिका मातहतमा रहेको अर्को भर्जिन आइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २३.३ प्रतिशत थियो ।
नेदरल्यान्ड मातहत रहेको एन्टिलेस नामक टापुको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २३.१ प्रतिशत थियो । यसरी तथ्यांक हेर्दा सन् २०१९ मा सातवटा देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान २० प्रतिशतभन्दा माथि थियो । जिडिपीमा पर्यटन क्षेत्रको योगदानका सम्बन्धमा तथ्यांक हेर्दाखेरि सन् २०१९ मा नेपाल विश्वको ८८ औं नम्बरमा रहेको थियो । त्यस्तै ‘द ग्लोबल इकोनोमी डटकम’ले सन् २०२१ मा विश्वभरिका विभिन्न देशमा पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा माथि योगदान भएको देशको सूची आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।
सो प्रतिवेदनअनुसार सन् २०२१ मा अरुबा भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशतसहित पहिलो नम्बरमा रहेको थियो भने सार्क क्षेत्रको देश माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७.६१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको थियो । चीनको अधीनस्थ रहेको मकाउको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७.०९ प्रतिशतसहित तेस्रो स्थानमा रहेको थियो । त्यस्तै गरेर एन्टिगुवा एन्ड बार्बाडोस भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३०.३६ प्रतिशतसहित चौथो स्थानमा रहेको थियो ।
सेसेल्स नामक सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानचाहिँ १८.०८ प्रतिशतसहित पाँचौं स्थानमा रहेको थियो । यसरी समग्रमा हेर्दा सन् २०२१ मा कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्रको योगदान भएको देशमा भूगोलका आधारमा धेरै सानो देश ‘बाहमास’ परेको छ । स्मरणीय छ, बहामासको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १०.३८ प्रतिशत रहेको छ । नेपालका पर्यटन व्यवसायी र पर्यटन क्षेत्रमा लागेका महानुभावहरूलाई माथिका सूची पक्कै पनि काम लाग्ला भन्ने आशा लिइएको छ ।
सन् २०२१ मा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट ५ प्रतिशतभन्दा धेरै योगदान गरेका अरू देशहरूमा चाहिँ केप भर्डे, कतार, टोंगा, क्रोसिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडा, अल्बानिया, लेबनान, भानुआटु, युनाइटेड अरब इमिरेट्स (युएई), लक्जेम्बर्ग र फिजी थिए । हाम्रो देश नेपालमा चाहिँ वर्षैपिच्छे पर्यटन क्षेत्रले दिएको योगदानको वार्षिक रूपमा संकलन गरिने छुट्टै तथ्यांक भए-नभएको पंक्तिकारलाई थाहा भएन । तथापि पछिल्लो पटक नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ देखि ३ प्रतिशतमा रहेको छ भन्ने विज्ञहरूको भनाइ छ ।
हुन पनि लगभग १०–११ वर्षअघिको नेपाली पर्यटन क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदानको तथ्यांक हेर्दा १.५ प्रतिशत (आर्थिक वर्ष ०६२-६३) देखि बढीमा ३.४ प्रतिशत (आर्थिक वर्ष ०६०-६१) सम्म रहेको देखिन्छ । आर्थिक वर्ष ०५९-६० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.४ प्रतिशत र कुल रकम ११ अर्ब ७४ करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आर्जजन भएको थियो भने आर्थिक वर्ष ०६६-६७ मा २.४ प्रतिशत नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान रहेको थियो । के भनिन्छ भने कुनै बेला नेपाली पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ११–१२ प्रतिशतसम्म योगदान गरेको थियो । नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि सन् २०१७ मा १२.६ दिन रहेको देखिन्छ ।
त्यसैगरी सन् २०१८ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि १२.४ दिन रहेको थियो । सन् २०१९ मा चाहिँ नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि पनि १२.४ दिन नै रहेको देखिन्छ । त्यस्तै गरेर सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत नेपाल बसाइ अवधि बढेर प्रतिव्यक्ति प्रतिदिन १५.१ दिन पुगेको थियो भने सन् २०२१ मा चाहिँ अहिलेसम्मकै प्रतिव्यक्ति प्रतिदिन औसत धेरै नेपाल बसेको तथ्यांक रहेको छ । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको बसाइ अवधि १५.५ दिन रहेको छ ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको पाँचवर्षे अवधिको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको अनुपात हेर्दा सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ मा सो अंक घट्यो । अर्थात् सन् २०१८ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च गराई केवल ४४ अमेरिकी डलर रहेको थियो । त्यस्तै सन् २०१९ मा २ डलर बढेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च गराइ ४८ डलर पुगेको थियो । सन् २०२० मा चाहिँ कल्पनै गर्न नसकिने गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च गराइ बढेको थियो । किनभने सो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसत ६५ अमेरिकी डलर खर्च गरेका थिए । स्मरणीय छ, नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले अहिलेसम्म गरेको दैनिक प्रतिव्यक्ति खर्च औसतमा धेरै खर्च गरेको तथ्यांक हो ।