सिटिहल निर्माणकार्य अन्तिम चरणमा «

सिटिहल निर्माणकार्य अन्तिम चरणमा

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सभा समारोह गर्नका लागि अभाव खड्किदै आएको सभाकक्ष चाँडै बन्ने भएको छ ।
२०७३ चैतबाट निर्माण सुरु भएको वीरेन्द्रनगर सिटि हल निर्माणकार्य अन्तिम चरणमा पुगेकाले अब यसै वर्षदेखि सभाहलको समस्या अन्त्य हुने भएको हो । सभाहल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभी काठमाडौंले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गर्ने बताएको छ ।
काम गर्ने समयमा कुनै पनि बाधा र अवरोध नआएका कारण समय अगावै सम्पन्न हुने कम्पनीका इन्जिनियर चन्द्रनारायण पण्डितले जानकारी दिए । सम्झौताअनुसार कम्पनीले २०७६ चैत २४ गतेभित्र काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गुर्नपर्नेमा त्यसअगावै सम्पन्न गर्ने उनको भनाइ छ । नेपाल सरकारको २६ करोड लागतमा बन्दै गरेको यो हल ७६८ सिट क्षमताको छ । हालसम्म हलका साथै ७ वटा बैठक कक्षको भौतिक संरचना निर्माणकार्य पूरा भइसकेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार अब रङरोगन तथा सजावटको काम तीव्रताका साथ भइरहेको छ । कर्णाली प्रदेशकैै सबैभन्दा ठूलो र पहिलो सुविधा सम्पन्न सभाहल साढे तीन बिघामा निर्माण भइरहेको छ । निर्माणाधीन सभाहलको पार्किङ स्थलमा ४ सय मोटरसाइकल र २ सय गाडी पार्किङ गर्ने क्षमता रहेको छ । सभाहलमा मुख्य र सहायक गरी दुई गेट रहने छन् ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयका सुपरभाइजर भवीन्द्र जिसीले द्रुत गतिमा काम भइरहेकोले यस्तै गतिमा काम गरे सम्पन्न गर्नुपर्ने समय अगाडि नै सम्पन्न हुने अनुमान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्