अत्याधुनिक मिटमार्ट सञ्चालन «

अत्याधुनिक मिटमार्ट सञ्चालन

बाँकेको नेपालगन्जमा गुणस्तरीय मासु बिक्री वितरणका लागि अत्याधुनिक मिटमार्ट सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा मिटमार्ट सञ्चालनमा आएको हो ।
सफा र स्वच्छ मासु पसल नहुँदा गुणस्तरहीन मासु उपभोग गर्न बाध्य नेपालगन्जवासीले अब गुणस्तरीय मासु उपभोग गर्न पाउने भएका छन् । जयमाता वागेश्वरी इन्भेस्टमेन्ट प्रालि र यम्मी फ्रोजन फुड्सले नेपालगन्जको बीपी चोकमा अत्याधुनिक मिटमार्ट सञ्चालनमा ल्याएको सो मिटमार्टको मंगलबार प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले उद्दघाटन गरिन् । उनले प्रदेश सरकारअन्तर्गत यसवर्ष ५ नम्बर प्रदेशमा ४ वटा मिटमार्ट पसल सञ्चालनमा आएमध्ये ३ वटा बाँकेमा र एउटा दाङमा रहेको जानकारी दिइन् ।
मिटमार्ट सञ्चालनमा आएपछि यस्ता व्यवसायले आर्थिक क्रियाकलापमा मद्दत पुग्ने बताइन् । मन्त्री पौडेलले बाँकेमा धेरै किसान व्यवसायिक रूपमा पशुपालनमा लागेको बताउँदै उत्पादनको जिम्मा किसानलाई दिएर बजारीकरणको जिम्मा व्यवसायीलाई लिन आग्रह गरिन् । अहिले किसानका उत्पादन बिक्री वितरण नभएर चिन्तित हुने गरेको बताउँदै उनले त्यसो भएमा किसानहरू निर्धक्क भएर पशुपालन गर्ने बताइन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले नेपालगन्जमा भएका मासुपसललाई व्यवस्थित गर्न लागेको बताए । “यस्तो बेला यो पसल सञ्चालनमा आउनु खुसीको कुरा हो,” उनले भने ।
जयमाता वागेश्वरी इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष निरञ्जन राज भण्डारीले किसानका उत्पादन किनेर स्वच्छ मासु बिक्री वितरण गरिने बताए । उनले मिटमार्ट खुलेपछि अब अन्य जिल्लाबाट मासु आयात गर्नुपर्ने अवस्था अन्त्य भएको बताउँदै स्वच्छ मासु उत्पादन, प्रवद्र्धन तथा बिक्री वितरणमा सहज हुने उनको भनाइ छ ।
१ करोड १७ लाखको लागतमा सञ्चालनमा आएको मिटमार्टमा ५० लाख रुपैयाँ प्रदेश सरकारले सहयोग गरेको छ भने बाँकी जयमाता बागेश्वरी इन्भेस्टमेन्ट प्रालि र यम्मी फ्रोजन फुड्सले लगानी गरेका छन । दैनिक ३ सयदेखि ३ सय ५० केजी मासु उत्पादन क्षमता रहेको मिटमार्ट पसलमा १० मेट्रिकटन र ५ मेट्रिकटन क्षमताको दुईवटा शीतभण्डार जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्