बजारमा पीएच न्यून भएका पानी «

बजारमा पीएच न्यून भएका पानी

झापा-खाद्य प्रविधि तथा गुणस्तर विभागले पिउने पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाका केही उद्योगले उत्पादन गरेको पानीको पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ । झापाको बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पीएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो ।
बिर्तामोडबाटै उत्पादित शास्वत, लाइफ केयर, सुरुंगाबाट उत्पादित माईधाम नामक पानीमा पीएचको मात्रा न्यून पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको बताए ।
पीएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुईवटा झापा बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पीएच परीक्षण गरिएको हो । संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा पानी परीक्षण गरिएको थियो । बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताइन् । उनले गुणस्तरीय उत्पादन तथा उपभोक्ताको हित संरक्षणमा जोड दिएकी छिन् ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय हुनुपर्नेमा जोड दिए । स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्नु पर्ने सुब्बाको भनाई छ । उपभोक्ता हित संरक्षणका लागि नियमित रुपमा पिउने पानी उत्पादन र बिक्री वितरणको अनुगमन तथा नियमन गर्नु पर्ने उनी बताउँछन् ।

के हो पीएच ?
पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पीएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८.५ पीएचसम्मको पानीलाई पिउन योग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पीएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ । पानीमा ७ पीएच सबैभन्दा उत्तम मानिन्छ । ६ पीएचभन्दा तलको पानीलाई अम्लिय अर्थात् एसिडिक भनिन्छ । ८.५ पीएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम रहेको बताइन्छ । ६ पीएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने रसाइन शास्त्री जयनारायण मित्रुका बताउँछन् ।
कुन पानीको पीएच कति ?
मंगलबार बजारबाट २० ब्राण्डका पानीको नमूना संकलन गरी डिजिटल प्रविधिबाट पीएचको मात्रा मापन गरियो । जसमा शाश्वतको पीएचको मात्रा ५.६ पाइयो । त्यस्तै हिमालयन ६.५, प्युरिकम ६.५, मकालु ६.७, सुनमाइ झरना ७.३, बेला ६.४, बेल्ली ६.७, तृष्णा ६, कञ्चन ६.४, लाइफ केयर ५.७, एक्वामेरी ६.२, ओसिस जल ६.२, माइधाम ५.६, कनकाई ६.१, लाइफ लाइन ६.१, इस्ट स्प्रिङ ६.२, किन्ले ७.१, डियु ड्रब्स ६ .२, जिरो एक्वा ६.२ रहेका छन् । बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्ने पानीमा पीएचको मात्रा ६.८ फेला परेको छ । खाद्य अनुसन्धान अधिकृत पुरीले स्वस्थ र गुणस्तरीय पानी पिउन उपभोक्तालाई आग्रह गरेका छन् । व्यापारको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड नगर्न उत्पादकहरुलाई आग्रहसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्