रेमिट्यान्सको वृद्धिदर घट्यो

वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल पठाउने रेमिट्यान्सको वृद्धिदर घटेको छ । भदौमा रेमिट्यान्स आउनेक्रम घटेर ०.७ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.६ प्रतिशतले बढेको थियो तर, चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपछि यसको असर परेको भन्दै राष्ट्र बैंकले गत आवको दुई महिनामा १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबर रेमिट्यान्स प्राप्त भएको जनाएको छ ।
रेमिट्यान्स आउने क्रम सुस्त भएपछि यसको सिधा असर बैंकिङ प्रणालीमा पर्ने देखिन्छ । जसबाट बैंकहरूमा रहेको लगानीयोग्य पुँजी (तरलता) घट्ने सम्भावना छ ।
साथै, रेमिट्यान्सको वृद्धिदर घट्दा राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकअनुसार देशको शोधनान्तर स्थिति पनि ५ अर्ब ८७ करोडले घाटामा गएको छ । यसले बाह्य स्थायित्व कायम गर्न चुनौती थपिदिएको छ । देशबाट बाहिरिने र भित्रने रकमको अन्तर नै शोधनान्तर हो । रेमिट्यान्सको वृद्धिदरमा आएको कमी तथा उच्च आयातको कारण चालू खाता पनि १७ अर्बले घाटामा गएको छ ।
राष्ट्र बैंकका अनुसार भदौसम्ममा नेपालले निर्यात गरेर जम्मा १३ अर्ब ५८ करोड भिœयाएको छ । तर आयातका कारण देशबाट १ खर्ब ६५ अर्ब रुपैयाँ बाहिरिएको छ अर्थात् अघिल्लो वर्षको तुलनामा आयात ११ प्रतिशतले बढेको छ । आयात ब्यापार ११ प्रतिशतले बढ्दा कुल ब्यापार घाटा १५१ अर्ब ८३ करोड रुपैयाँ पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
भारतबाट ८.१ प्रतिशत, चीनबाट २६.३ प्रतिशत र अन्य मुलुकबाट १०.७ प्रतिशतले आयात बढेको छ भने वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पूर्जा लगायतका वस्तुको आयात बढेको छ । त्यसैगरी कृषि औजार तथा पार्टपुर्जा, खाने तेल, चाँदी, सेनिटरी वेयर्स, विद्युतीय सामग्रीलगायतका वस्तुहरूको आयात घटेको छ ।
यसैगरी, श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि चालु आवको दुई महिनामा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको दुई महिनामा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । यसअवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।