Logo

सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य

गजुरी (धादिङ)– सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य भएका छन् । आलु उत्पादन बढे पनि सडक सुचारु नहुँदा बजार नपाएको गुनासो किसानहरुको छ । किराञ्चोकमा आलुको उन्नत बीउ भित्रयाएपछि यस वर्ष ४ सय टन आलु फलेको अगुवा कृषक सोनामसिंह रुम्बाले बताए ।

‘२ सय ९ टन बिक्री गरिसकेको र अझै १५ टनजति आलु बिक्री गर्न बाँकी रहेको छ । कैयाैंले घरमै आएर पनि किनेर लगेका छन् । कैयाैं किसानले आफू बजार जाँदा लगेर बेचेका छन् । ‘केही गाउँमा अझ खन्न बाँकी नै छ,’ रुम्बाले बताए । यसपटक आलु राम्रो र धेरै फल्यो । तर, सडक सुचारु नहुँदा बिक्री गर्न मुस्किल भयो । किराञ्चोकले लेकबाट पृथ्वी राजमार्गको आदमघाट पुग्न ३० किलो मिटर छ । सडक बिग्रेका कारण पालुङ–नौबीसे हुँदै आदमघाट पुग्दा १ सय १० किलोमिटर छ ।

यति लामो सडक प्रयोग गर्दा गाडी भाडा महँगो परेकाले किसानले राम्रो भाउ पाउन सकेनन् । ‘बजारमा आलु अभाव, गाउँमा खनेर थुपारेर राख्ने कुरा पनि राम्रो हुँदैन भनेर खन्दै बेच्दै गर्दा उत्पादक किसानले आलुको भाउ सन्तोषजनक पाएनन्,’ रुम्बाले बताए । ‘मेरो बारीमा उत्पादन भएको सात टन बिक्री गरे । अरू किसानको पनि आलु किनेर बेचे । यसपालिको भाउ ग्रेडिङ नगरेको २५ रुपैयाँ प्रतिकिलो र ग्रेडिङ गरेको ३० रुपैयाँ प्रतिकिलोमा किसानले पैसा पाए । रातो आलुको ३५ रुपैयाँ प्रतिकिलोका दरले पैसा पाएका हुन्,’ रुम्बाले बताए ।

गजुरी गाउँपालिका वडा नं. ७ को पेटारे, वडा नं. ८ को थुम्कीडाँडा, तीनघरे, बाङ्गे, छेडालगायतका गाउँका किसानले आलु बेचिसकेका छन् । सोनामसिंङ रुम्बारले ७८ टन, बम बहादुर रुम्बाले ४३ टन, मिलन तामाङले ४८ टन र राजकुमार तामाङले ४० टन आलु किसानबाट संकलन गरी बिक्री गरेका छन् । अब अन्तिम भइसक्यो, १५ टनजति मात्र बाँकी होला । यस वर्षको आलुको कारोबार सकियो, रुम्बाले बताए ।

करिब १ सय ७५ टन आलु घरबाट बिक्री, बीउ, खानको राखे होला । अर्को वर्ष अझै आलु खेती विस्तार गर्छन् । माघ–फागुनमा आलु लगाउने भएकाले सिँचाइ गर्ने माध्यम छैन । खोलामा पानी बगिरहेको छ । तर, बारीमा पुर्‍याउन सकिएको छैन । आदमघाट–मजुवा चौतार ३५ किलोमिटरको रामबहादुर पण्डित मार्ग बनेको छ । तर, कच्ची भएकाले बर्खा चल्दैन । बर्खायाममा पनि चल्लो भए २ हजार टन आलु उत्पादन गर्न सकिने रुम्बाले बताए ।

आलु किसान बमबहादुर रुम्बा भन्छन्, ‘किसानको बलमा सरकारको साथ रहे किसान गर्न हौसला बढ्छ । हामीलाई सडक बाह्रै महिना चल्ने बनाइदिए मात्र पनि राहत महसुस हुन्छ । आलु भण्डार गर्ने ठाउँ नहुँदा सस्तोमा बेचिरहेका छौं । आलु भण्डार कक्ष, आलु खेती तालिम, सहज रूपमा मलको आपूर्ति भए किसान खुसीले आलु खेती गर्छन् ।’

सूर्यबहादुर मुक्तान भन्छन्, ‘आलु भण्डार गर्ने ठाँउ नहुँदा सस्तोमा आलु बेच्नुपर्‍यो । ६० रुपैयाँ केजीमा किनेको आलुको बीउ अहिले २५ रुपैयाँमा बेच्नुपरेको छ । मल, खेताला, खाजा, पानी सबै हिसाब गर्दा त घाटा हुन्छ, तर पनि केही न केही काम गर्नुपर्ने भएकाले आलु खेती राम्रो नै छ ।’ महादेव खर्कमा भने आलु खन्न बाँकी रहेको प्रदीप तामाङले बताए । यस क्षेत्रमा अब आलु खन्ने बेला भएको छ । आलु खनेर एकैसाथ बिक्री गर्ने भनेर सल्लाह भइरहेको छ ।

गजुरी गाउँपालिका कृषि शाखाकी शर्मिला सुवेदी भन्छिन्, ‘गजुरीको लेकाली भूभाग आलु र बर्खे तरकारीका लागि उपयुक्त छ । गाउँपालिकाले भण्डार कक्ष बनाउन सहयोग गर्ने, प्रविधि र प्राविधिका साथै आलुको उन्नत बीउको व्यवस्था गर्ने सके किसानहरूले आलु खेती अहिलेको तुलनामा २० गुणा बढाएर गर्न सक्छन् । आर्थिक वर्ष ०७६/७७ मा वडा नं. ७ मा पाँच समूह र वडा नं. ८ मा ६ समूहमा आलु पकेट कार्यक्रम गरिएको थियो । दुवै वडामा १२/१२ लाख रुपैयाँ खर्च भएको छ । वडा नं. ३ को वालसिङ, पुराकसिङ, चिलाउने खर्क र वडा नं. ४ को गैरीगाउँ, न्वारवास, चिउरीखर्क, बालुवाडाँडा आलुको खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्