लक्ष्यअघि नै भवन निर्माण «

लक्ष्यअघि नै भवन निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा स्वास्थ्य चौकीको भवन निर्माण लक्ष्यअघि नै सम्पन्न भएको छ ।
म्याग्दीका अधिकांश पूर्वाधार आयोजना ढिलासुस्तीका कारण समयमै पूरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने समस्याले थला परेको अवस्थामा भगवती स्वास्थ्य चौकीको भवन लक्ष्यभन्दा तीन महिनाअघि नै निर्माण सकिएको हो ।
१८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भवन १५ महिनामै पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत २०७३ कात्तिक २३ गते ठेक्का सम्झौता भएको भवनको पूर्वाधार निर्माणको काम २०७४ वैशाखदेखि सुरु भएको थियो ।
एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँमा नानाहरि जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि कृष्णकुमार शेरचनले भवनको सबै संरचना तयार पारेर फागुन पहिलो साताभित्र नै हस्तान्तरणको तयारी गरेको जानकारी दिए ।
भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री उक्त भवनको भुइँ तलामा ७ र पहिलो तलामा दुईवटा कोठा छन् । भुइँ तलामा बिरामीको उपचार, औषधि भण्डारण, प्रशासनिक, ल्याबलगायतका छुट्टाछुट्टै कक्ष छन् । पहिलो तलाको दुई कोठा स्वास्थ्यकर्मीको आवासका लागि बनाइएको हो ।
छड, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य वृद्धिका बावजुद पनि निरन्तर मजदुर परिचालन गरेको र समुदायले पनि सहयोग गरेकाले लक्ष्यअघि नै भवन बनाउन सफल भएको शेरचनले बताए ।
व्यवसायीको इच्छाशक्ति, सक्रियता, सरकारी निकायको समन्वय तथा निगरानी र समुदायको सहयोग भएमा पूर्वाधार योजनामा ढिलासुस्ती हटाउन सकिने उदाहरण भगवती स्वास्थ्य चौकीको भवन योजनाले प्रवाह गरेको वडाध्यक्ष रिम कटुवालले बताए ।
भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र स्थानीय लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए । भवबहादुर भण्डारीले साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले एक लाख रुपैयाँभन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए ।
हाल वडा कार्यालयको स्वामित्वमा रहेको जीर्ण अवस्थाको भवनको दुईवटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हँुदै आएको छ । हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने चौकीका प्रमुख शाहीले बताए ।
नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेगका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवाग्राहीको संख्या दैनिक २० जनाको अनुपातमा छ ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्