कृषि गणनाको सन्देश «
Logo

कृषि गणनाको सन्देश

नेपालको अर्थतन्त्रमा अहिलेसम्म पनि कृषिक्षेत्रको प्रभुत्व कायमै छ । कुल जनसंख्याको करिब दुईतिहाइ जनशक्ति सक्रिय रूपमा आबद्द रही आफ्नो जीविकाको साधनका साथसाथै आय र रोजगारीको मुख्य स्रोतका रूपमा यही क्षेत्रलाई अँगालेको पाइन्छ । मुलुकका अधिकांश जनसंख्या यो क्षेत्रमा आबद्ध भनिए पनि कहाँ, कति किसान, कुन अवस्थामा, कसरी अवस्थित छन् भन्ने जानकारी समयसापेक्ष अद्यावधिक हुनु आवश्यक हुन्छ । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले हाम्रो मुलुकमा राष्ट्रिय जनगणनाजस्तै कृषि गणना गर्ने प्रचलन छ ।

नेपालमा पहिलो कृषि गणना २०१८ सालमा सम्पन्न भएको थियो । त्यसपछि प्रत्येक १०–१० वर्षमा कृषि गणना सञ्चालन हुँदै आएको छ । यही क्रमको सातौं राष्ट्रिय कृषि गणना, २०७८ ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नाराका साथ केन्द्रीय तथ्यांक विभागले गत वर्ष सञ्चालन गरेको थियो । यो कृषि गणनाको प्रमुख नतिजा भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक नतिजाले नेपालमा किसान र कृषिक्षेत्रको वर्तमान अवस्थाबारे चित्रण गरेको छ । यो नतिजाले मुलुकमा भावी दिनमा तर्जुमा गरिने कृषिक्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमका लागि आवश्यक महत्वपूर्ण सन्देश प्रवाह गरेको देखिन्छ ।

विगतका कृषि गणनामा जस्तै सातौं राष्ट्रिय कृषि गणनामा समेत दुई प्रकारका कृषक परिवारलाई समेटिएको छ । पहिलो, खेतीपाती गर्ने कृषक परिवार, जसमा ०.०१ हेक्टर (चार आना वा आठ धुर) वा सोभन्दा बढी जग्गामा खेतीपाती लगाएका कृषक परिवार परेका छन् । दोस्रोमा, पशुपन्छी मात्र पाल्ने कृषक परिवार, जसमा खेतीपाती नभएका र भए पनि ०.०१ हेक्टरभन्दा कम जग्गामा खेतीपाती गरेका तर पशुपन्छी पालेका परिवार परेका छन् । पछिल्लो कृषि गणना, २०७८ अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र १ लाख ३२ हजारले पशुपन्छी मात्र पाल्ने गरेको पाइएको छ । यसरी कृषक परिवारको कुल संख्या ४१ लाख ३१ हजार रहेको देखिएको छ ।

कृषि गणना, २०६८ को तुलनामा यो संख्या करिब ३ लाखले बढी हो । २०६८ मा खेतीपाती गर्ने कृषक परिवार र पशुपन्छी मात्र पाल्ने कृषक परिवार संख्या क्रमशः ३७ लाख १६ हजार र १ लाख १६ हजार गरी कुल ३८ लाख ३२ हजार कृषक परिवार थियो । विगत १० वर्षको अवधिमा संख्यात्मक रूपमा कृषि परिवारको संख्या बढेको देखिए पनि औसतमा भने घटेको देखिएको छ । कृषि गणना, २०७८ अनुसार नेपालमा ६२ प्रतिशत घरपरिवार मात्रै कृषक परिवार रहेको जनाएको छ । जबकि १० वर्षअघि कृषक परिवारको प्रतिशत ७१ थियो ।

कृषि गणनाको सुरुवातदेखि अहिलेसम्म विगत ६० वर्षको अवधिमा नेपालमा कृषक परिवार एकपछि अर्को गणनामा बढ्दै गएको देखिएको छ । वि.सं. २०१८ मा खेतीपाती गर्ने कृषक परिवारको संख्या १५ लाख १८ हजार तथा पशुपन्छी मात्र पाल्ने कृषक परिवारको संख्या २२ हजार थियो । ६० वर्षपछि आएर २०७८ सालमा खेतीपाती गर्ने परिवार डेढ गुणाभन्दा बढी र पशुपन्छी पाल्ने परिवार पाँच गुणाले बढेको देखिएको छ । यो अवधिमा करिब २६ लाख कृषक परिवार थपिएको तथ्यांक सार्वजनिक भएको छ । यसबाट कृषिक्षेत्रमा मानिसहरूको लगाव निरन्तर रूपमा कायमै रहेको देखिन्छ । अझै पनि मानिसहरू कृषिक्षेत्रबाट आशावादी छन् भन्ने कुरा यो क्षेत्रमा थपिँदै गएको कृषि परिवारको संख्याले पुष्टि गरेको छ । उनीहरूको आशालाई जीवितै राख्न सरकारले आगामी दिनमा समेत कृषिलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता देखिन्छ ।

वर्तमान समयमा युवाहरूमा देखिएको बिदेसिने प्रवृत्तिको असर कृषिक्षेत्रमा समेत देखिएको छ । यो क्षेत्रमा बूढापाकाहरूको संख्या बढ्दै गएको र नयाँ पुस्ता अर्थात् युवाको संख्या घट्दै गएको सातौं कृषि गणनाको नतिजाले देखाएको छ । २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा कम उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो भने २०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ बाट घटेर १४.९ प्रतिशतमा झरेको छ ।

३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको गणनाले देखाउँछ । २०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६.७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ बाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने यस अवधिमा १७.६ बाट बढेर १८.३ प्रतिशत पुगेको छ । ६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ । यसैगरी कृषि गणना, २०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत रहेकोमा १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत पुगेको छ ।

देशका युवापुस्ता कृषिक्षेत्रप्रति आकर्षित हुन सकिरहेका छैनन् भन्ने सन्देश कृषि गणना, २०७८ ले दिएको छ । यसको प्रमुख कारण विद्यमान परम्परागत तथा जीवननिर्वाहमुखी खेती प्रणाली नै हो । गणनामा उल्लेख भएअनुसार मुलुकका ६८.८ प्रतिशत किसानले घरायसी उपभोगका लागि मात्रै कृषि कार्य गर्ने गरेका छन् । सबै कृषि उत्पादन बिक्रीका लागि १.१ प्रतिशतले मात्र खेती गर्ने गरेको देखिएको छ । घरायसी उपभोगसहित बिक्रीका लागि उत्पादन गर्ने किसान २४.७ प्रतिशत मात्र देखिएका छन् ।

आम्दानीको मुख्य स्रोत कृषि कार्यलाई बनाउनेको संख्या ७०.४ प्रतिशत छ, जुन अघिल्लो गणनामा ८३.१ प्रतिशत थियो । कुल किसानमध्ये ४५ प्रतिशतलाई मात्र आफ्नो कृषि कार्यबाट भएको आम्दानीले वर्षभर खान पुग्ने बताएका छन् । अघिल्लो वर्ष यस्तो ४० प्रतिशत थियो । करिब २६ प्रतिशत किसानले कृषिका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि गरेका देखिएको गणनामा उल्लेख छ । अघिल्लो वर्ष यो १६ प्रतिशत थियो । यसबाट कृषिक्षेत्रमा सकारात्मक परिवर्तनका संकेतहरू देखिए पनि पर्याप्त भने छैन । युवाहरूलाई कृषिक्षेत्रमा आकर्षित गर्नका लागि यस क्षेत्रको थप आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।

पछिल्लो समय मुलुकमा टुक्रे जग्गा बढेका कारण कृषियोग्य जमिन घटेको देखिएको छ । राष्ट्रिय कृषि गणना, २०७८ अनुसार मुलुकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखिएको छ । १० वर्षअघि मुलुकमा २५ लाख हेक्टर कृषियोग्य जग्गा थियो । यसैगरी क्षेत्रगत रूपमा हेर्दा हिमाली क्षेत्रमा ०.२ प्रतिशत किसान परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको छ भने पहाडमा किसान परिवार ७.७ प्रतिशतले बढे पनि कृषि हुने जग्गा १२ प्रतिशतले घटेको देखिएको छ । तराईमा किसान परिवार ९.४ प्रतिशतले बढ्दा कृषि हुने जमिन भने ११ प्रतिशतले घटेको छ । अस्थायी बाँझो जग्गासमेत २०६८ को ३० हजार हेक्टरको तुलनामा अहिले १० वर्षमा दोब्बरले बढेर ६० हजार हेक्टर पुगेको छ । भूमिको उपयुक्तता र उत्पादन क्षमताको आधारमा वर्गीकरण गरी खेतीयोग्य भूमिको संरक्षण गर्नुपर्ने समय आएको सन्देश कृषि गणना, २०७८ ले दिएको छ ।

किसानको वित्तीय स्थितिका बारेमा कृषि गणना, २०७८ मा उल्लेख भएअनुसार ४ लाख ८३ हजार २ सय ८ अर्थात् ११.७ प्रतिशत परिवारले कृषि प्रयोजनका लागि ऋण लिएको बताएका छन् । २०६८ को गणनामा यस्तो ऋण लिएका किसान ८ लाख ३५ हजार ९ सय २१ अर्थात् २१.८ प्रतिशत थिए । कृषि प्रयोजनका लागि ऋण लिने किसानको संख्या घट्नुको अर्थ उनीहरूले कृषिबाहेक अन्य स्रोतबाट समेत नियमित आय आर्जन गरिरहेको अनुमान लगाउन सकिन्छ ।

विशेष गरी पहिल्लो समय विप्रेषण आयले उनीहरूलाई दरिलो टेवा पुगेको देखिन्छ । यसैगरी मुलुकभर ४.४ प्रतिशत किसानले कृषि बीमा गरेको गणनामा उल्लेख छ । यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी ८४.४ प्रतिशत परिवारले पशुपालनका लागि बीमा गरेको देखिएको छ । यस गणनाअनुसार ३ लाख ८ हजार ५ सय १२ अर्थात् ७.५ प्रतिशत किसानले सरकारी अनुदान पाएको र सबैभन्दा बढी रासायनिक मल खरिदमा अनुदान पाएका छन् । अझै पनि धेरै किसान सरल एवम् सुलभ वित्तीय पहुँचमा पुग्न नसकिरहेको तथ्य गणनामा प्रस्ट देख्न सकिन्छ । किसानको वित्तीय पहुँचको विस्तारका लागि थप पहल गर्नुपर्ने सन्देश कृषि गणनाले दिएको छ ।

नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिदै आएको कृषिक्षेत्रको विकास र विस्तारमा सातौं राष्ट्रिय कृषि गणना, २०७८ ले प्रदान गरेका जानकारी तथा तथ्यांकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा दुईमत छैन । गणनाबाट संकलित सूचना र तथ्यांकका आधारमा मुलुकमा कृषिक्षेत्रको प्रवद्र्धन गर्ने योजना र कार्यक्रमहरू तर्जुमा गर्न सरकारलाई मद्दत पुग्नेछ । यसैगरी यस क्षेत्रमा रहेका सम्भावना तथा समस्याहरूको पहिचान गर्नसमेत गणनाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । गणनालाई आधार बनाएर आगामी दिनमा तर्जुमा गरिने कृषिक्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरूले वर्तमान समस्याको समाधान गर्दै कृषिक्षेत्रको दिगो विकासको मार्गचित्र कोर्न सक्छ । मुलुकको कृषिक्षेत्रको विकासमा राष्ट्रिय कृषि गणना, २०७८ एउटा कोसेढुंगा बन्न सक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्