Logo

राष्ट्रिय लाइन भरपर्दो नहुँँदा स्थानीय जलविद्युत उत्पादनमा जोड

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई नै उज्यालो बनाउने उद्देश्यले निर्माण सुरु भएको करिब एक मेगावाट (९९८) किलोवाट क्षमताको आयोजना निर्माणले अन्तिम रूप लिएको हो । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा स्थानीय जलविद्युत उत्पादनमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

जसअन्तर्गत पातारासीमा बन्दै गरेको चुकेनी जलविद्युत आयोजना निर्माणमा सबैले चासो राखेका हुन् । आफ्नै स्थानीय जलविद्युत उत्पादनमा आत्मनिर्भर नभई जिल्लामा बत्ती अभावको समस्या हल नहुने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको तर्क छ । उनी भन्छन्, ‘चुकेनी जलविद्युत हाम्रो गौरवको आयोजना हो । यसलाई जुन नेताले सुरुवात गरे पनि आयोजना निर्माणलाई गति दिन सबै सचेत नागरिकले चासो राख्नु राम्रो हो । राष्ट्रिय बत्ती भरपर्दो नभएको जुम्लामा स्थानीय बत्तीलाई नै प्राथमिकता दिनुको विकल्प छैन ।’

चुकेनी जलविद्युत आयोजना आगामी दसैंसम्म बिजुली उत्पादन हुने गरी आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि २०७६ साल जेठ १० गते सम्झौता भई निर्माण सुरु भएको आयोजना करिब तीन वर्ष अलपत्र अवस्थामा रह्यो । सरोकारवालाको सक्रियताले पुन: आयोजनाले गति लिँदा आउदो दसंैमा बत्ती बाल्ने आशा जागेको छ । ०७६ साल जेठ १० मा सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले हालसम्म पछि धकेलियो ।

चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन पोखराले लिएको थियो । उसले स्थानीयस्तरमा मेगा हाइड्रो एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ । तर पछिल्लो डेढ वर्षबाट आयोजनाले गति लिँदा आउँदो दसैंमा नै बिजुली उत्पादन हुने गरी काम भइरहेको भण्डारी मेगा हाइड्रोका प्रबन्धक चन्द्र भण्डारी बताउँछन् । उनी भन्छन्, ‘सुरुको दुई वर्ष कोभिडका कारण काम हुन सकेन । जोखिमका बीच काम गर्ने चाहे पनि कामदार भेटिएनन् । यतिबेला जनशक्ति थपेर पनि काम गरिरहेका छौं । क्यानल र पावर हावसको काम पूरा भइसकेको छ । दसैंसम्ममा सबै काम सकिएर बत्ती बल्छ । ढुक्क हुनुहोस् ।’

निर्माण पक्षले दसैंसम्म बिजुली उत्पादन हुने दाबी गरेसँंगै दसैंमा जुम्ला झिलिमिली हुने चर्चा सुरु हुन थालेको छ । केही समय अघिसम्म आशा मारिसकेको आयोजनाले पछिल्लो समय गति लिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । हामीले अब त छ महिनामा बत्ती बल्छ भनेका थियाैं । केही दिनअघि आयोजनाको अनुगमन गर्न जाँदा प्रगति सन्तोषजनक देख्यौं ।

उनले भनिन्, ‘अब भने आशा पलाएको छ । विगतमा कछुवा गतिमा भएको निर्माणकार्य यतिबेला भने द्रुत गतिमा भइरहेको छ । जुम्लामा बिजुलीको माग बढ्दो छ । ११ केभी प्रसारण लाइनको दूरी झण्डै साढे तीन सय किलोमिटर हुँदा राष्ट्रिय लाइन भरपर्दाे छैन । चुहावट धेरै छ । बेलाबेला बत्ती जाने समस्या उस्तै छ । जनशक्ति खटिए पनि बत्ती नियमित हुनै मुस्किल छ । त्यसैले जुम्लाको माग र आवश्यकतालाई चुकेनी आयोजनाले पूर्ति गर्ने अपेक्षा छ ।’

यद्यपि राष्ट्रिय प्रसारण लाइनको बत्ती नियमित गर्न विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाको टिम नियमित खटिरहेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १८ महिनामा सकिने आयोजना साढे तीन वर्षपछि बन्ने पक्का भएको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन स्थानीय २५ जनाको समिति नै बनाए पश्चात् कामले गति लिई बिजुली उत्पादन हुने स्थितिमा आएको स्थानीय रूपा बुढाले बताइन् ।

ठेकेदार कम्पनीका कारण काम ढिला हुँदा पातारासी गाउँपालिकाको लगानी खेर गएको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत् आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको सेयर लगानीसमेत गरेका छन् ।

‘बैंकको ब्याज तिर्नु परिरहेको छ । बत्ती दसैमा बाल्ने तयारी छ । पातारासीका अध्यक्ष बोहोराले भने, ‘ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीको कारण हाम्रो लगानीबाट प्रतिफल आएन । बरु ऋणको ब्याज तिरिरहनु पर्‍यो । विद्युत आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको घर जग्गाको लालपुर्जा बैंकमा धरौटी राखिएको छ । ढिलै भए पनि बत्ती बल्ने आशा छ ।’

पातरासी गाउँपालिका–३ का अध्यक्षले ठेकेदारले ढिला गर्दा गाउँलेलाई नोक्सान भएको बताए । ‘हामीले बैंकबाट ६ करोड लोन लिएका छौं,’ उनले भने, ‘अझै पनि ठेकेदारले काम गर्नलाई विश्वासको वातावरण बनाउन सकेको छैन । जनता आक्रोसित भएका छन् ।’ यसैबीच केही दिनअघि कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत आयोजनाको अनुगमन गरी चाँडो काम सक्न निर्देशन दिएका छन् ।

जुम्लाको बिजुली अभावको समस्यालाई चुकेनी आयोजनाले समधान गर्ने उनको भनाइ छ । जुम्ला सदरमुकामलाई मात्र एक मेगावाट बत्ती आवश्यक छ । राष्ट्रिय बत्ती भरपर्दाे छैन । त्यसैले स्थानीय उत्पादनमा सरोकारवालाले जोड दिएका छन् । पर्याप्त बत्ती नभएकै कारण करोडांै लगानीका कोल्डस्टोर प्रयोगमा आउन सकेका छैनन् । जुम्लामा राम्रो लगानी उद्योग धन्दासमेत खुल्न सकेका छैनन् भने भएका उद्योग पनि सञ्चालन हुन सकेका छैनन् ।

पातारासीमै डेढ दर्जन आयोजना

जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी गाउँपालिका विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि एक सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् ।

पालिकाले विद्युतगृहको मर्मत सम्भारमा लगानी गरे पनि आयोजना पुरानै हुन् भने पातारासीमै ९९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत बन्दै छ । निकट भविष्यमै जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने पनि पातारासीको तयारी छ । झण्डै ३४ सय बढी घरधुरी रहेको पातारासीका सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सदरमुकाम अँध्यारो हुँदा पनि दुर्गम पातारासीका गाउँ उज्याला नै हुन्छन् । विद्युत विकासमा दुर्गम पातारासीले सुगमलाई समेत चुनौती दिइरहेको छ ।

पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत आयोजना, २५ किलोवाटको लुम विद्युत आयोजना, २५ किलोवाटकै तल्फी लघुजलविद्युत आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत आयोजना सञ्चालनमा छन् । त्यस्तै, २५ किलोवाटको माथि लोर्पा विद्युत आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत आयोजना लगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् । १६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २५० किलोवाटको बत्ती नियमित बलिरहेको छ ।

विद्युतगृहमा काम गर्ने कर्मचारी सेवा सुविधा तथा विद्युत मर्मतका लागि पालिकाले वर्षेनी आवश्यक बजेट खर्चिंदै आएको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ । पातारासीको जस्तै विद्युत उत्पादनको सम्भावना जुम्लाका सबै पालिकामा रहेकाले राष्ट्रिय लाइनकै भर नपरी स्थानीय उत्पादनमा समेत सबैले ध्यान दिन जरुरी छ । विद्युतमा आत्मनिर्भर भए पनि पातारासीका सम्भावना अझै अवसरमा रूपान्तरण हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्