दाङमा जुम्ली स्याउ

दाङ– तुलसीपुरको मुख्य चोकचोकमा बिक्रीका लागि जुम्लाको स्याउ राखिएको छ । ‘एकजना महिला व्यवसायी डोकामा स्याउ बिक्री गर्दै भनिन्, ‘लैजानुहोस् भाइ एक सयमा दुई किलो जुम्लाको स्याउ ।’ पर बसेका अर्का व्यवसायीले भने, ग्रेडिङ गरेको । सय रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक ताजा स्याउ ।’ एक सय रुपैयाँको एक किलो स्याउ घर आगनमै पाउँदा स्थानीय पनि स्याउ किनेर लैजानेमा तल्लीन थिए । हिजो आज जिल्लाका मुख्य बजारमा जुम्लाको स्याउले बजार पाएको छ ।
तुलसीपुर–४ की चन्द्रकला वलीले आफ्नै देशको अर्गानिक स्याउ सस्तोमा पाउँदा निकै खुसी थिइन् । उनीजस्तै धेरै जसो महिलाले जुम्लाको स्याउ रोजेका थिए । ‘बजारमा पाइने चिनियाँ तथा भारतीय स्याउभन्दा धेरै स्वादिलो र राम्रो छ । मैले दुई किलो किनें,’ उनले भनिन् । उनीजस्तै यहाँका धेरै उपभोक्ताको रोजाइमा अहिले जुम्लाको स्याउ पर्ने गरेको छ । स्याउ बिक्री गर्दै आएकी कमला थापाका अनुसार दैैनिक सात आठ सयदेखि १५ सय सयसम्म बचत भएको छ ।
‘जुम्लाको स्याउ खुबै मिठो छ । एकाध घन्टामै डोको रित्तिन्छ,’ उनले भनिन् । यो वर्ष जुम्लाको स्याउ दाङका मुख्य बजारदेखि अन्य छिमेकी बजारदेखि तराईका जिल्लामा पर्याप्त मात्रामा भित्रिएको छ । जुम्लाको स्याउको व्यापारले यतिबेला भारतीय र चीनको स्याउको व्यापार ठप्प प्रायः रहेको अन्य फलफूल व्यवसायी बताउँछन् । बजारमा खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँमा जुम्लाको स्याउ पाउने भएपछि भारतीय र चिनियाँ स्याउ बिक्री नहुने गरेको अर्का फलफूल व्यापारी मनोज थापाले बताए ।
उनले आफूलगायत जिल्लाका अधिकांश फलफूल व्यवसायीले अहिले जुम्लाको स्याउ खरिद गरेर बिक्री वितरण गर्दै आएको बताए । जुम्लाको स्याउमा कीटनाशक रासायनिक औषधि प्रयोग नहुने गरेको कृषिविज्ञ बताउँछन् । ‘यो स्याउमा त्यति रासायनिक औषधि हुँदैन केही दाग भए पनि त्यो भित्रसम्म छैन, खानालाई निकै फइदा छ,’ कृषि प्राविधिक माधव केसीले भने । उनले स्वदेशमै हेर्दा आकर्षक नभए पनि खानालाई भने स्वादिलो स्याउ भएको बताए । स्याउका लागि जुम्ला प्रख्यात मानिन्छ ।
नेपालका गाउँघरमा स्याउको व्यावसायिक खेती हुनु अघिदेखि नै स्याउका लागि जुम्ला प्रख्यात मानिँदै आएको छ । जुम्लाको स्याउ नेपालको लगभग सबै क्षेत्रमा पाइन्छ । जुम्लामा अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुन्छन् । जुम्लामा उत्पादन हुने प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पुर्याएर बिक्री–वितरण हुने गर्दछ ।
नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ । बजार अभाव, सडक, भण्डारण अभावले जुम्लाको स्याउ ओझेलमा पर्दै आएको थियो । तर पछिल्लो समयमा यातायातको सहजतासँगै जुम्लाको स्याउ बजारमा सहजै आउने गरेको छ । नेपालमा नै उत्पादन हुने स्याउ देशैभरि जुनसुकै सहरमा पनि पाइन्छ । अर्गानिक स्याउ उत्पादन पनि वार्षिक रूपमा बढ्दै गइरहेको छ ।