टाइम्स इनर्जीको विवाद कम्पनी रजिष्ट्रार कार्यालयमा

२५४ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रवद्र्धक टाइम्स इनर्जी कम्पनीको सेयर विवाद कम्पनी रजिष्ट्रार कार्यालय पुगेको छ ।
आफूहरूलाई गलत रूपमा संस्थापक सेयरबाट हटाएको भन्दै प्रवद्र्धकद्धय नानुकादेवी गौतम र सन्तोष सिटौलाले निवेदन दिएपछि विवाद कम्पनी कार्यालय पुगेको हो । कानुनी र प्रक्रियागत त्रुटीपूर्ण तरिकाले कम्पनीले आफूहरूको नाम संस्थापकबाट हटाइएको उल्लेख गर्दै निवेदनमा सेयर हक कायम गर्न माग गरिएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दिइएको निवेदनअनुसार कम्पनीमा गौतमको ३५ प्रतिशत र सिटौलाको १५ प्रतिशत सेयर स्वामित्व रहेको तथा आफूहरूलाई बेवास्ता गरी गलत तरिकाले हटाइएको छ । कम्पनीले सेयर रकम दाखिला गर्ने सूचनाबमोजिम कम्पनीका अध्यक्ष चन्द्रमणि बास्कोटासँगको सहमतिअनुसार एभरेष्ट बैंकमा कम्पनीको नामको खाता खोली सोमा सेयर रकम जम्मा गरिएको उल्लेख गर्दै सेयर लगतको माग राखी निवेदन पेस गरे पनि त्यसलाई बेवास्ता गरेर आफूहरूको नाम हटाइएको दाबी गरिएको छ । बिना जानकारी आफूहरूको नाम हटाइ सेयर लगत अभिलेख हुनु ठाडो न्यायको मान्य सिद्धान्तविपरीत भएको उल्लेख गर्दै पटकपटक निवेदन दिँदा पनि बेवास्ता गरिएको दाबी उनीहरूको छ ।
सेयर धनीबीचको विवादलाई लिएर यसअघि २३ साउन २०६८ उनीहरूले निवेदन दिएका थिए । निवेदनबमोजिम तत्कालीन कम्पनी रजिष्ट्रारको उपस्थितिमा १५ भदौ २०६८ मा दुवै पक्षले आ–आफ्नो तर्फबाट कानुन व्यवसायी राखी सबै हिसाब किताब हेर्ने तथा हिसाब किताबमा चित्त बुझेपछि उजुरीकर्ता पक्षले लगानी गर्ने सहमति भएको थियो । सहमतिअनुसार आफूहरूलाई सेयर नदिएको भन्दै निवेदनमा दुवैले आफ्नो सेयर हक कायम गर्न माग गरिएको छ ।