दक्ष जनशक्ति उत्पादनमा जोड

विराटनगर– उद्योग संगठन मोरङले वक्र्स फरदर ट्रेनिङअन्तर्गत औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई जोड दिँदै आएको छ । उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरूको दक्षता अभिवृद्धि गर्ने योजनाअन्तर्गत संगठनले २५ दिने इन्डस्ट्रियल अटोमेसन तालिम सम्पन्न गरेको छ । तालिमको समापनसँगै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पुँजी, प्रविधिका साथै श्रमिकको दक्षता विकास समानान्तर रूपमा हुनुपर्ने भएकाले जनशक्ति दक्षतामा ध्यान दिँदै आएको बताए । परिवर्तित प्रविधिलाई आत्मसात् गरी व्यावसायिक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्न सके उद्योगको उत्पादकत्व अभिवृद्धि हुने उनले बताए । प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्ने जनाएको छ ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेसाकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दै आएको कार्यलाई थप परिष्कृत रूपमा अघि बढाउन तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन पनि उनले अनुरोध गरे । सैद्धान्तिक र प्रयोगात्मक गरी दुई सत्रमा विभाजित तालिम २५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा डिजिटल पावर इलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेशन, सेन्सर, सर्भो सिस्टमलगायतका विषय समेटिएको थियो ।
त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आइतबारदेखि २५ दिने इन्स्ट्रमेन्टेसन तालिम प्रारम्भ गरेको छ । उक्त तालिममा विभिन्न उद्योगका २० जना प्राविधिकको सहभागिता रहेको छ भने आगामी दिनमा उद्योगको मागअनुरूप बोइलर अपरेटर, प्लास्टिक इन्जेक्सन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।