एनआरएनएले बनाएको घरमा व्यक्तिको स्वामित्व «

एनआरएनएले बनाएको घरमा व्यक्तिको स्वामित्व

गोरखा-सरकारले लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकीकृत नमुना वस्तीका घर सम्बन्धित लाभग्राहीको नाममै पास गरिदिने भएको छ । भूकम्पपीडितका लागि एनआरएनएले बनाएको ५७३ घर ब्यक्तिको स्वामित्वमा रहने वा नरहने अन्योल हटेको होे ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरण अन्तरगतको जिल्ला जग्गा दर्ता समितिको बैठकले सम्बन्धित लाभग्राहीको नाममा घर पास गरिदिने निर्णय गरेको हो । बैठकले दशबर्षसम्म विक्रि वितरण गर्न नपाउने शर्तमा सम्बन्धित घरधनिलाई घरको लालपुर्जा दिने निर्णय गरेको समितिका सदस्य सचिव एवंम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले जानकारी दिए । “कार्यविधि अनुसार दश बर्षसम्म सम्बन्धित लाभग्राहीको नजिकका हक लाग्नेको नाममा नामसारी गर्न सकिन्छ । तर बिक्री वितरण गर्न पाइँदैन,” उनले भने । लाप्राकका बासीन्दालाई स्थानान्तरणका लागि गुप्सीपाखामा निर्माणाधिन घरहरूको कित्ताकाँट भएपनि कुन घर कसको भन्ने एकिन भएको छैन । अब घरधनी एकिन गरी लालपुर्जा दिने प्रक्रिया सुरु भएको जिमालि प्रमुख आचार्यले बताए ।
“लालपुर्जा प्राप्तीका लागि अब वडा कार्यालयले स्थानीयको निवेदन संकलन गर्छ,” उनले भने, “वडा कार्यालयबाट गाउँपालिका हुँदै जिमालिमा आएका सिफारीस हामी रुजु गर्छौ । स्थानान्तरण सहितको नक्सा नापीले बनाउँछ । सबै प्रक्रिया पूरा गरेर हामी डकुमेन्ट प्राधिकरणमा पठाउँछौ । त्यहाँबाट निर्णय भएपछि सम्बन्धित ब्यक्तिले पाउँछन् ।” बैठकले एकिकृत वस्तीमा सामुदायिक भवन, विद्यालय र स्वास्थ्य चौकीको लागि आबश्यक जग्गा माग गर्दै मन्त्रीपरिषदमा सिफारीस गर्ने पनि निर्णय गरेको छ । बैठकमा सहभागी धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र वडा नं ४ का अध्यक्ष राज गुरुङले एकिकृत वस्तीमा बनेका संरचना उपयुक्त नभएको गुनासो गरेका थिए । उनीहरूले गुप्सीपाखामा बस्ने लाप्राकीलाई जिविकोपार्जनमा सुधारका लागि भेडापालन, अल्लो प्रशोधन केन्द्र लगायतका क्षेत्रमा सहयोग आबश्यक रहेको बताए ।
बैठकमा सहभागी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रव शर्माले एनआरएनएलाई सम्झौता अनुसार वस्ती निर्माणका लागि निर्देशन दिने र भूकम्पपीडितका लागि जिविकोपार्जनमा सघाउने कार्यक्रम ल्याउन पहल गर्ने बताए । जग्गा दर्ता समितिका संयोजक एवमं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो । गत जेठ २० गते बसेको प्राधिकरणको बैठकले भूकम्प प्रभावितको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कामको समन्वयको जिम्मा जिमालीलाई दिएकाले कार्यविधि अनुसार काम थालेको जिमालीका प्रमुख आचार्यले बताए । तिन महिनाभित्रमा गुप्सीपाखामा स्थानान्तरण गरिने घरधनीलाई लालपूर्जा उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाई छ । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । नमुना वस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्