पर्यटन प्रवर्द्धन गर्न भारतको बंगाल ट्राभल मार्टमा पोखरेली «

पर्यटन प्रवर्द्धन गर्न भारतको बंगाल ट्राभल मार्टमा पोखरेली

पोखरा– पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको एक टोली भारतको बंगाल ट्राभल मार्टमा सहभागी भएका छन् । भारतको सिलगुडीमा आयोजना हुने उक्त मार्टमा पोखराबाट १५ सदस्य टोली सहभागी भएको हो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा हुने उक्त मार्टमा पोखराको टोली सहभागी भएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए । पोखराको प्रमोसनल क्याम्पेन तथा बिजनेस टु बिजनेस (बिटुबी) कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

भारतका विभिन्न सहर, बंगलादेश र भुटानका ५ सयभन्दा बढी टुर अपरेटरको सहभागिता र १ हजारभन्दा बढी भिजिटरको आगमन रहने उक्त कार्यक्रममा पोखराको टोली सहभागी हुँदा त्यसले यस क्षेत्रको प्रमोसन तथा प्रवर्द्धन गर्न थप मद्दत पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरे । अध्यक्ष अधिकारीले भने, ‘भारतीय बजारमा बोर्डर सिटी प्रमोसनल अभियान अन्त्यन्त महत्वपूर्ण अभियानको रूपमा हामीले लिएका छौं, पोखरासम्बन्धी अन्य प्रवर्द्धनात्मकसामग्री प्रदर्शन र वितरण समेत गर्नेछौं ।’

पोखराको कला र संस्कृति झल्कने गरी सजाइने उक्त स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने महासचिव संगीता पौडेलले बताइन् । पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यक्रमलाई पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराएको पोखरा महानगरका प्रवक्ता मोतीराम तिम्सिनाले पत्रकार भेटघाट कार्यक्रममा बताए । पोखराको आर्थिक विकासको समृद्धि पर्यटनबाटै हुने भन्दै यस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक भएको उनको भनाइ छ ।

उक्त मार्टमा भारतसहित भुटान, बंगलादेशका पर्यटन सम्बद्ध व्यक्तिहरूको भेटघाटले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरामा हवाई र स्थलमार्गबाट पुग्न सकिने सहज वातावरण भएको विषय आगन्तुकहरूलाई अवगत गराइने उनले बताए ।

संस्थाले विगतदेखि नै अन्तर्राष्ट्रिय स्तरमा प्रमोसनल अभियान तथा विभिन्न प्रकारका सेल्स मिसनहरू आयोजना गर्दै आएको महासचिव पौडेलको भनाइ छ । पोखरा र नेपालका लागि पर्यटकको स्रोत बजार भनेको भारतीय बजार भएको दाबी गर्दै उनले नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपले अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताइरहेको दाबी गरिन् । यसैबीच उक्त टोलीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्