गाउँको सेवा लिन सदरमुकाममा

ओखलढुंगाका स्थानीय तहमा मनोमानी बढ्न थालेको छ । निर्वाचित प्रतिनिधिबाटै स्थानीय तहमा हुने सबै खाले गतिविधिमा व्यापक मनोमानी बढेको हो ।
केही दिनदेखि मोलुङ गाउँपालिकाले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखेर नागरिकलाई जिल्लाबाटै सेवा दिने व्यवस्थाप्रति नागरिकले असन्तुष्टि व्यक्त गरेका हुन् । गाउँपालिका प्रमुख मणिराज राईको निर्देशनमा सदरमुकामबाटै सेवाप्रवाह गर्न थालिएको कर्मचारीहरूले बताएका छन् ।
प्रमुख राईले गाउँकार्यपालिकाका सदस्यहरूलाई समेत बेवास्ता गर्दै एकलौटी निर्णय गर्ने गरेको कार्यपालिका सदस्यहरूले गुनासो पोखेका छन् । सदरमुकाममा घर भाडामा लिएर महँगो भाडादर तिर्ने तर गाउँका नागरिकलाई स्थानीयस्तरबाटै सेवा प्रवाह गर्ने विषयमा बेवास्ता गर्दै आएको नेपाल कम्युनिष्ट पाटीका जिल्ला सचिवालय सदस्य भुमरी लामाले बताए । गाउँपालिकाले गाउँबाटै काम थालेको बताए पनि हालसम्म गाउँपालिकाबाट कुनै सेवा प्रवाह नभएको लामाको भनाइ छ । स्थानीय तहको चुनाव भएको ७ महिना बितिसक्दासमेत कर्मचारीहरू गाउँपालिकामा नभेटिएपछि नागरिकहरू सदरमुकाम धाउन बाध्य भएका छन् ।