बजार अनुगमनमा निजी क्षेत्र सक्रिय

स्याङ्जा-सरकारले नयाँ कर लागू गरेपछि व्यवसायीहरू अन्योल छन् । सबै व्यवसायीलाई करको दायरामा ल्याउन सरकारले साउन १ गतेदेखि नयाँ कर नीति लागू ग-यो । सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायी अन्योलमा रहेका बेला जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले व्यवसायीलाई कर नीतिबारे प्रशिक्षण गर्दै आएका छन् ।
प्रशिक्षण अलवा वालिङ उद्योग वाणिज्य संघले नगर क्षेत्रमा अनुगमनसँगै सुझाव प्रदान गर्न सुरु गरेको छ । ५ टोली बनाएर विभिन्न बजार क्षेत्रमा संघले अनुगमन गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । “ग्रामीण क्षेत्रमा व्यवसायीलाई अझै करको विषय जानकारी छैन् ।” अध्यक्ष पौडेलले भने, “व्यवसायीलाई करबारे जानकारी र व्यापार व्यवसायबारे समस्या बुझ्न अनुगमन गरेका हौं ।” सरकारी निकायबाट अनुगमन हुँदा त्रसिद बन्ने व्यवसायीलाई संघले अनुगमन गर्दा केही सहज भएको अध्यक्ष पौडेलले बताए । अनुगमनका क्रममा विना दर्ता पसल सञ्चालन गरिएको, एकै ठाउँमा सबै सामग्री बिक्री गरेको, मिति गुज्रिएको वस्तुको बिक्री वितरण गरेको भेटिएको उनले जानकारी दिए । व्यवसायीलाई पसल दर्ता गर्न, म्याद गुज्रेका सामग्री बिक्री नगर्नलगायतका सुझाव अनुगमन क्रममा दिएको पौडेलले बताए ।
संघका अध्यक्ष शोभाकान्त पौडेलको संयोजकत्वमा बाँयटारी झलुंगे, थानपाटा क्षेत्र, वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको संयोजकत्वमा भुम, भकुण्डे, उपाध्यक्ष गिरमान गुरुङको संयोजकत्वमा रामबाच्छा, त्रियासी, खहरे, सिमलचौपारी, रत्ने, वालिङ नगरपालिकाको प्रमुख बजारमा महासचिव केशरबहादुर खाँणको संयोजकत्वमा अनुगमन गरिएको छ ।
निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै व्यापारीलाई करको दायरामा ल्याउने प्रयास स्वरुप सचेत गराइएको महासचिव खाँणले बताए । मुख्य बजारमा पनि समस्या देखियो महासचिव खाँणले भने, “ग्रामीण क्षेत्रमा त अझै कति समस्या होलान्, सरकारी टोली र निजी क्षेत्र मिलेर समन्वयात्मक तवरले बजार अनुगमन हुनुपर्ने देखिन्छ ।”
चाडवाड नजिकिँदै जाँदा सरकारी निकायबाट बजार अनुगमन हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि प्रशासनले गर्ने अनुगमनको अधिकार स्थानीय तहलाई दिएको छ, तर अहिलेसम्म स्थानीय तह पनि बजार अनुगमनमा मौन बसेको छ । जसले गर्दा अखाद्य सामग्री, महँगीले प्रश्रय पाएको स्थानीय उपभोक्त बताउँछन् ।
वालिङ उद्योग वाणिज्य संघले एकैदिन वालिङ नगरपालिकाभित्र रहेका झण्डै १ हजार पसलमा अनुगमन गरेको छ । तस्बिर ः कारोबार
प्रकाश डोटेल