नेपालमा पहिलो पटक मेडिकल एजुकेसन एक्स्पो «

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन एक्स्पो

मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्थालगायतका विषयमा जानकारी दिने उद्देश्यले भदौ ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो–२०१९ आयोजना हुने भएको छ ।
काठमाडौंको रामशाह पथमा एक्स्पो आयोजना हुनेछ । नेपालमा पहिलो पटक आयोजना हुने सो एक्स्पोमा आकर्षक छात्रवृत्तिका प्याकेजको समेत जानकारी दिइने आयोजकले जनाएका छन् ।
एक्स्पोमा विदेशमा रहेका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले मेडिकल शिक्षाका बारेमा प्रत्यक्ष जानकारी दिने जनाइएको छ । वाइडरेन्ज कन्सल्टेन्सीको प्रायोजनमा हुन लागेको सो एक्स्पोमा बंगलादेश, चीन, भारत, पिलिपिन्स, रसिया, युक्रेन, उज्बेकिस्तान, जर्जिया, मोरिसस्लगायतका राष्ट्र मेडिकल युनिभर्सिटीका प्रतिनिधिहरू उपस्थित रहनेछ । यो शैक्षिक मेलामा एमबीबीएस, एमडी, एमएस, पारामेडिसिन र नर्सिङ कोर्षका बारेमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिने छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर सो मेलाका बारेमा जानकारी दिइएको हो । मेलामा नेपाल तथा विदेशमा पछिल्लो समय विकास भएका मेडिकलको उत्कृष्ट शिक्षाका बारेमा सम्पूर्ण जानकारी उपलब्ध हुने जनाइएको छ । नेपाल बाहेक विभिन्न डेस्टिनेसनमा गएर कसरी र कति शुल्कमा मेडिकल अध्ययन गर्न सकिन्छ सोको जानकारी मेलामा लिन पाइन्छ ।
मेडिकल एजुकेसन करियर एक्स्पोका बारेमा डब्लूआरसी नेपालका सीईओ एवं इन्जिनियर सुदीप नायकले पहिलेको तुलनामा नेपाली विद्यार्थीहरू विदेशमा समेत गएर अध्ययन गर्ने अवसर सहज हुँदै आएको बताए । मेलामा ३० लाख रुपैयाँदेखि माथिको शुल्कसहितको मेडिकल शिक्षा प्याकेजका जानकारी लिन सकिनेछ । मेलामा शैक्षिक ऋण सेवासम्बन्धी जानकारी दिन विभिन्न बैंकहरूलाई पनि निमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्