जीवन बीमामा समस्या
नयाँ बीमा गर्नेको तुलनामा परित्याग गर्ने आधा

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमालेख त्याग (पोलिसी सरेण्डर) गर्नेहरूको संख्या उच्च रुपमा बढेको छ । अर्थतन्त्रमा आएको सुस्तता र बीमा कम्पनीप्रतिको अविश्वासका कारण बीमालेख परित्याग गर्नेको संख्या बढेको विज्ञहरूले बताएका छन् ।
बीमा प्राधिकरणका अनुसार साउनमा जीवन बीमा कम्पनीले नयाँ बीमा व्यवसायबाट भित्र्याएको कुल रकममध्ये आधाबराबर बीमालेख परित्याग गर्ने छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउनमा नयाँ बीमा जारी गरेर २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका छन् । ती कम्पनीको यही अवधिमा एक अर्ब २८ करोड रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ ।
प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये सबैभन्दा धेरै बीमालेख परित्याग हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीको ४७ करोड २३ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ । बीमा क्षेत्रमा सबैभन्दा धेरै कारोबार पनि यही कम्पनीले गर्दै आएको छ ।
यस्तै एलआईसी नेपालको ३१ करोड २५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १२ करोड २२ लाख र राष्ट्रिय बीमा संस्थानको १० करोड ३२ लाख रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ ।
यसैगरी सूर्यज्योति लाइफबाट सात करोड ४६ लाख, एसियन लाइफबाट पाँच करोड ८४ लाख, नेशनल लाइफबाट चार करोड ५५ लाख, मेट लाइफबाट चार करोड ३९ लाख, रिलायबल नेपालबाट एक करोड ५१ लाख, आइएमई लाइफबाट एक करोड १४ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ । बाँकी कम्पनीको सरेण्डर भने करोडभन्दा कम छ ।
पछिल्लो समय बीमालेख परित्याग गर्नेको संख्या बढ्नु चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन् । अर्थतन्त्रमा आएको सुस्तता, बिमितको क्रयशक्तिमा ह्रास आउनु जस्ता कारणले बीमालेख परित्याग गर्ने क्रम बढेको उनीहरूको बुझाइ छ । यसबारे प्राधिकरणले अध्ययन गर्नु आवश्यक रहेको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । बीमालेख परित्यागले कम्पनी र बिमित दुवैलाई घाटा हुने भएकाले पनि यस्तो अवस्था किन आयो भनेर जानकारी राख्ने काम बीमा कम्पनीहरूले पनि गर्नुपर्नेमा उनले जोड दिए ।
‘पोलिसी सरेण्डरको एकमुष्ट डाटा निकाल्ने गरिएको छ । कम्पनीहरूले कुन अवस्थामा यस्तो भएको छ भनेर पनि हेर्नुपर्छ,’ उनले भने । बीमा अभिकर्ताहरूले पुरानो बीमा नवीकरणमा चासो नदिने गरेका कारण पनि बीमालेख परित्यागका घटना बढेको हुन सक्ने उनले बताए ।
निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बीचमै रोकिएमा त्यसलाई बीमा पोलिसी त्याग (सरेण्डर) गरिएको मानिन्छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण बिमितले पोलिसी सरेण्डर गर्ने गरेको बिमकहरू बताउँछन् । बजारमा सुस्तता आएको समयमा बीमा पोलिसी त्याग गरेरै भए पनि पैसा चलाउनका लागि बिमितहरूले चाहना राख्ने गरेको उनीहरुको भनाइ छ । बिमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । यो व्यवस्था हुनुअघि बिमितले बीमालेख खरिद गरेको एक वर्षपछि सरेण्डर गर्न पाउँथे ।
प्राधिकरणले बीमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरी तीन वर्षपछि समर्पण गर्न पाउने व्यवस्था गरेको छ । यसअनुसार बिमितलाई बीमा पोलिसी समर्पण गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्नेछ । साथै सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने व्यवस्था प्राधिकरणले गरेको छ । अहिले बीमा पोलिसी सरेण्डर गर्नेहरूमा यो व्यवस्था लागु हुनुअघिका बढी भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । अर्थतन्त्रमा सुस्तता आएकै कारण पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेहरूको संख्या बढेको उनले बताए । उनले भने, ‘अर्थतन्त्रको सुस्तताका कारण मानिसमा क्रयशक्ति नै छैन । पैसा आवश्यक पर्दा केहीले पोलिसी त्याग गरेको देखिन्छ ।’
यसबाहेक अभिकर्ताहरूले एकातिर सरेण्डर गराएर अर्काेतिर बीमा गराउने प्रवृत्ति पनि छ । तीन वर्षे व्यवस्थाले त्यस्तो प्रवृत्तिलाई केही रोके पनि पूर्ण रुपमा रोक्न नसक्दा तथ्यांक बढेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । उनले सरेण्डरलाई पूर्ण रुपमा रोक्न नसकिने समेत बताए । बीमा पोलिसी सरेण्डरलाई कम गर्न कम्पनीहरू पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।