समयअघि नै बन्यो जुम्ला अस्पताल

विकास निर्माणका काममा ढिलाइ भइरहेको समाचार आइरहँदा जुम्ला अस्पतालको निर्माण तोकिएभन्दा तीन महिनाअघि सम्पन्न भएको छ । तीन सय शै्या भएको अस्पताल उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
७६ करोड रुपैयाँ लागतमा बनेको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्रीले एक सय शै्यामा रहेका बिरामीलाई फलफूलसमेत वितरण गरेका थिए ।
“कर्णालीमा ३ सय शै्याको अस्पताल बन्नु पश्चिम नेपालका जनतामा स्वास्थ्य सेवाको पहुँच पुग्नु हो,” देउवाले भने, “कर्णालीमा मात्र नभई ३ सय शै्याको भवन राष्ट्रियस्तरको एक संस्था हो । प्रतिष्ठानमा आवश्यक सहयोगका लागि जेसुकै सहगोग गर्न पनि सरकार तयार रहेको देउबाले बताए । स्वास्थ्यमन्त्री दिपक बोहोराले कर्णाली क्षेत्र स्वास्थ्यका सवालमा अब सक्षम भएको दाबी गरे ।
एक टाटा सिटामोल र एक पुरिया जीवन जल नपाएर ज्यान गुमाउनु पर्ने स्थिति अब नरहने कर्णालीबासीले आशा गरेका छन् । उनीहरूले स्तरीय सेवा पाउने भन्दै कर्णालीबासी उत्साहित छन् । तर, अस्पतालमा आवश्यक उपकरणको समस्या देखिन्छ । सिटीस्क्यान, आसियु, एमआरआईलगायतका मेसिन नहुँदा उपचारमा समस्या छ ।
स्तरीय सेवा प्रवाहका लागि प्रतिष्ठान प्रयासरत रहेको उपकुलपति डा. राजेन्द्रराज वाग्लेले बताए । जो जुटाउने प्रयासमा प्रतिष्ठान लागि परेको उनको भनाइ छ । कर्णालीदेखि पश्चिम नेपालका जनताको स्वास्थ्य अनुसन्धान प्रतिष्ठानले गर्नेछ ।
प्रतिष्ठानका रजिष्टार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये २ हजार ४९१ जनाको ठूलो शल्यक्रिया भएको बताए । त्यसैगरी, विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा सुरु, स्टाफ नर्स चौँथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले बताए ।