झापाका सीमा नाकाबाट पटाका भित्रियो

बिर्तामोड– तिहार र छठपर्वमा बढी प्रयोग हुने प्रतिबन्धित बारुदजन्य पटाका झापाका सीमा नाकाबाट भित्रिन थालेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएसँगै यस्तो तथ्य फेला परेको हो ।
सशस्त्र प्रहरीको टोलीले झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानबाट बिहीबार उक्त परिमाणको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए । सो पटाका भारतीय नम्बर प्लेट बीआर ३७ जे ५२५७ नम्बरको मोटरसाइकलमा राखेर भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको उनले बताए ।
बरामद गरिएको पटाकामा ८२ बन्डल खुर्सानी, २७ बन्डल रकेट, ११ बन्डल कलर सेट, ३८ बन्डल कलर रेन पटाका रहेको र बरामद गरिएको पटाकालाई नष्ट गरिएको उनले बताए । त्यस्तै नियन्त्रणमा लिएको मोटरसाइकललाई ८० हजार मूल्यांकन तोकेर भन्सार बुझाइने डीएसपी कटुवालले बताए । तिहार र छठ पर्वलाई लक्षित गरी नेपालमा प्रतिबन्धित बारुदजन्य पटाका भारतबाट तस्करीको माध्यमबाट भित्रिन थालिसकेको डीएसपी कटुवालले बताए ।
पछिल्लो समय नेपाल र भारतका नाकाबाट अवैधरूपमा पटाका भित्रिने क्रम सुरु भएको उनको भनाइ छ । सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्रिँदै आएको पटाका पूर्वका विभिन्न जिल्लासहित काठमाडौंसम्म पुग्ने गरेको बताउँदै डीएसपी कटुवालले सीमा नाकाबाट अवैध रुपमा पटाका लगायतका सरसामान भित्रिन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा उच्च सतर्कता बढाएको जानकारी दिए ।