वैदेशिक रोजगारीमा ठगी गर्ने गिरोह सक्रिय «

वैदेशिक रोजगारीमा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको नाम राखेर जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी गरिएको छ । विभागले अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल र जर्मनी सरकारबीच श्रम सम्झौता भएको जनाउँदै विभागको लेटर हेड प्रयोग गरी विभिन्न सेवासुविधासहित आकर्षक तलबसम्बन्धी सूचना प्रकाशन गरेको जनाएको छ ।

विभागले जारी गर्ने सूचनाजस्तै गरी जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सूचना प्रकाशित गरिएको छ । विभागका निर्देशक कविराज उप्रेतीले सामाजिक सञ्जालमा जर्मनीमा नेपाली युवाका मागसम्बन्धी भ्रमपूर्ण सूचना प्रकाशित गरी ठगी गर्ने प्रयास भएको बताए । यसैगरी श्रम मन्त्रालयको लेटर हेड राखेर प्रवक्ता तथा सहसचिवको हस्ताक्षर राखी मौसमी कामदार सम्बन्धमा प्रेस विज्ञप्ति नै प्रकाशित गरिएको छ ।

मन्त्रालयबाट जारी गरेको भन्दै मन्त्रालयको लेटर हेड नै प्रयोग गरी कोरियामा मौसमी कामदार पठाउने सूचना प्रकाशित गरिएको छ । विज्ञप्तिमा प्रवक्ता डण्डुराज घिमिरेको नक्कली हस्ताक्षर गरी भ्रामक सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरिया सरकारबीचमा कुनै पनि सम्झौता नभएको तथा मौसमी कामदार पठाउनेसम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुनेसमेत जनाएको छ ।

‘सामाजिक सञ्जालहरूमा यसरी प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायको अनुमतिबिना सामाजिक सन्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न आग्रह गरिएको छ । मन्त्रालयले प्रवक्ता तथा सहसचिव घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया थालनी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्