मुनलाई प्योङयाङ भ्रमणको निम्तो «

मुनलाई प्योङयाङ भ्रमणको निम्तो

उत्तर कोरियाली नेता किम जोङ उनले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन निम्ता दिएको सोलस्थित राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
दक्षिण कोरियाको भ्रमणमा रहेकी नेता किम यो जोङले उत्तर कोरियाली सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङमा जान निम्ता लिएर आएको जनाएको ब्लू हाउसका प्रवक्ताले बताए ।
किम यो जोङ उत्तर कोरियाली सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिको उपनिर्देशक तथा सर्वोच्च नेता किमकी बहिनी हुन् ।
प्योङयाङमा छिट्टै हुन लागेको यो अन्तरकोरियाली तेस्रो शिखर सम्मेलन हो । यसअघि किमका पिता तथा तत्कालीन नेता किम जोङ द्वितीयले सन् २००० मा तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति किम दाइ जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेटेका थिए ।
निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन् । उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्विकार्ने स्थिति छैन ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एकआपसमा अनादर झल्काउने खालका श्रृंखलाबद्ध भनाइहरू आएका थिए ।
शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधि–मण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ ।
उक्त प्रतिनिधि–मण्डलको नेतामा उत्तर कोरियाली संसद्का प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिने किम योङ नाम तथा नेता किम जोङ उनकी बहिनी किम यो जोङ छन् ।
यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधि–मण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।
उनीहरू दुई जनासहितको चार सदस्यीय प्रतिनिधि–मण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लू हाउसमा पुगेको थियो ।
उक्त प्रतिनिधि–मण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो ।
दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा महत्वपूर्ण घटनाका रूपमा लिइएको बताइएको यहाँका स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २००९ पछि उत्तर कोरियाका तर्फबाट यो स्तरको प्रतिनिधि–मण्डल दक्षिण कोरिया पुगेको पहिलो भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्